
धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित पात्ले मावि मैदानमा असोज १७ देखि १९ गतेसम्म दोस्रो स्व. लोकबहादुर गुरुङ स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
तमु युवा समाज सिद्धलेक–२ को आयोजना र सिद्धलेक गाउँपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा विजेता टोलीले रु.१,११,१११ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टोलीले रु.५५,५५५ र तृतीय हुने टोलीले रु.३३,३३३ नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
प्रतियोगितामा देशभरका पालिकाको टिम सहभागी हुन सक्नेछन् तर खेलाडी भने आफ्नै पालिकाबाट मात्र हुनुपर्नेछ । प्रत्येक टिममा १२ खेलाडी, १ कोच र १ म्यानेजर रहने व्यवस्था गरिएको छ। नाम दर्ताको अन्तिम मिति असोज १४ गते तोकिएको आयोजकले जनाएको छ ।
यस स्मृति कपको नाम दिवंगत लोकबहादुर गुरुङको सम्झनामा राखिएको हो । गुरुङ तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका पूर्वअध्यक्ष, नलाङ पात्ले मावि व्यवस्थापन समिति पूर्व अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहनुभएको थियो । उहाँको सवारी दुर्घटनामा निधन भएपछि उहाँको सम्झनामा प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।
गत वर्षदेखि ‘स्व. लोकबहादुर गुरुङ र स्व. मनोज श्रेष्ठ स्मृति कप’ को रूपमा सुरु गरिएको प्रतियोगिता यस वर्ष ‘स्व. लोकबहादुर गुरुङ दोस्रो स्मृति कप’ का नाममा हुँदैछ ।
