तेस्रो अञ्जन स्मृति कप फुटबल स्थगित

Avatar photo
Dhadingpost
भदौ २९, २०८२

धादिङ । बेनीघाट रोराङ–९ मझिमटारमा असोज ४ गतेदेखि सञ्चालन गर्ने भनिएको तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता स्थगित भएको छ ।

आयोजक अञ्जन स्मृति प्रतिष्ठान ले आज सूचना जारी गर्दै देशमा उत्पन्न जटिल र संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता हाललाई स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

३४ वर्षीय युवा व्यवसायी तथा तत्कालीन माओवादी केन्द्रका बेनीघाट रोराङ–९ का सचिव अञ्जन सिलवालको स्मृतिमा प्रतियोगिता विगतमा दुई संस्करणका खेलहरु सम्पन्न गरि सकेको छ । सिलवालको चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि उनीप्रति श्रद्धाञ्जलीस्वरूप परिवार र साथीहरूले स्थापना गरेको अञ्जन स्मृति प्रतिष्ठान मार्फत खेलकुल प्रतियोगिता गर्दै आएपनि यो तेस्रो सस्करण रोकिएको छ ।

विगतका दुई संस्करण

अञ्जन स्मृति कपको पहिलो संस्करण फुटबलमा भेटेरान समूहले उपाधि जितेको थियो। सो प्रतियोगिताको फाइनलमा चितवनका खेलाडी विक्कीले एक्लैले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई उपाधि दिलाएका थिए। सोही खेलमा विक्की व्यक्तिगत रूपमा पुरस्कार रकमकै कारण विशेष चर्चामा आएका थिए। उनले प्रतिगोल १० हजारका दरले गाउँपालिकाबाट ५० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताका रूपमा ३ हजार, उत्कृष्ट खेलाडीको रूपमा ३ हजार, साथै एक स्थानीय व्यवसायीले प्रतिगोल ५०० का दरले २ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए। यसरी उनले जम्मा ५८ हजार ५०० रुपैयाँ जित्न सफल भएका थिए, जुन रकम प्रतियोगिताको प्रथम पुरस्कारभन्दा पनि बढी थियो।

त्यस्तै, गत वर्ष सम्पन्न दोस्रो संस्करणमा भने भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। सो खेलमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी हाम्रो मुग्लिन, इच्छाकामना टिम विजयी बन्न सफल भएको थियो।