अशक्त नागरिकको घरमै पुगेर सेवा: वडा अध्यक्ष धर्मराज भण्डारीको जनमुखी पहल

Avatar photo
Dhadingpost
भदौ १७, २०८२

धादिङ । नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार)ले अशक्त, असहाय तथा अपांगता भएका नागरिकलाई घरमै पुगेर सेवा दिने परम्परा निरन्तरता दिँदै जनमुखी नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ अनुसार प्रत्येक आर्थिक वर्षको भदौ मसान्तसम्म लाभग्राहीको परिचयपत्र नवीकरण गर्नुपर्ने प्रावधानअनुरूप वडा कार्यालयले यस वर्ष पनि टोलटोलमै पुगेर सेवा प्रदान गरेको हो । कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई अध्यक्ष भण्डारी स्वयंले घरमै पुगेर नवीकरण सेवा उपलब्ध गराएका छन् ।

वडामा निर्वाचित भएदेखि नै अध्यक्ष भण्डारीले सामाजिक सुरक्षा भत्ता वितरण र परिचयपत्र नवीकरण कार्यलाई नागरिकमैत्री बनाउन निरन्तर टोलटोलमा पुग्ने परिपाटी बनाउँदै आएका छन् । यसरी तोकिएको स्थानमा आउन नसक्ने नागरिकको घरमै पुगेर काम सम्पन्न गर्ने उहाँको अभ्यासले वडावासीलाई सहजता दिलाएको छ ।

भदौ १५ गते पुलबगैचा, पशुपति डाँडा र कुमाल गाउँमा सेवा प्रदान गरिएको र भदौ १६ गते कुडुले तथा आपस्वारामा नवीकरण कार्य सम्पन्न भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नागरिकलाई कार्यालय धाउनुपर्ने बाध्यता कम गरी उनीहरूको घरआँगनमै सेवा पुर्‍याउने प्रयास गरेका छौँ । जनताकै घरमै पुगेर समस्या समाधान गर्नु नै हाम्रो प्राथमिकता हो ।”

यदि अझै कसैको परिचयपत्र नवीकरण छुटेको भए वडा अध्यक्ष धर्मराज भण्डारी (फोन: ९८५१२‍००९७७) वा वडा सचिव अञ्जली श्रेष्ठ (फोन: ९८४००‍०७२१२) लाई सम्पर्क गर्न वडा कार्यालयले आग्रह गरेको छ ।