
धादिङ । अञ्जन स्मृति प्रतिष्ठान, बेनीघाट रोराङ–९ मझिमटारले असोज ४ गतेदेखि तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मझिमटार खेल मैदानमा हुने प्रतियोगितामा विजेता टोलीले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ । त्यस्तै सेमिफाईनलमा रोकिने दुई टोलीलाई जनही १०–१० हजार, अनुशासित टिमलाई ५ हजार, साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र गोलकर्तालाई जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
३४ वर्षीय युवा व्यवसायी तथा तत्कालीन माओवादी केन्द्रका बेनीघाट रोराङ–९ का सचिव अञ्जन सिलवालको स्मृतिमा प्रतियोगिता आयोजना हुँदै आएको हो । सिलवालको चुम्लिङमा मोटरसाइकल दुर्घटनामा निधन भएपछि उनीप्रति श्रद्धाञ्जलीस्वरूप परिवार र साथीहरूले स्थापना गरेको अञ्जन स्मृति प्रतिष्ठानले विगत तीन वर्षदेखि यो प्रतियोगिता निरन्तर गर्दै आएको छ ।
विगतका दुई संस्करण
अञ्जन स्मृति कपको पहिलो संस्करण फुटबलमा भेटेरान समूहले उपाधि जितेको थियो। सो प्रतियोगिताको फाइनलमा चितवनका खेलाडी विक्कीले एक्लैले गजुरी समाजविरुद्ध पाँच गोल गर्दै टोलीलाई उपाधि दिलाएका थिए। सोही खेलमा विक्की व्यक्तिगत रूपमा पुरस्कार रकमकै कारण विशेष चर्चामा आएका थिए। उनले प्रतिगोल १० हजारका दरले गाउँपालिकाबाट ५० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताका रूपमा ३ हजार, उत्कृष्ट खेलाडीको रूपमा ३ हजार, साथै एक स्थानीय व्यवसायीले प्रतिगोल ५०० का दरले २ हजार ५०० रुपैयाँ प्राप्त गरेका थिए। यसरी उनले जम्मा ५८ हजार ५०० रुपैयाँ जित्न सफल भएका थिए, जुन रकम प्रतियोगिताको प्रथम पुरस्कारभन्दा पनि बढी थियो।
त्यस्तै, गत वर्ष सम्पन्न दोस्रो संस्करणमा भने भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। सो खेलमा नेपाली भलिबलका परिचित खेलाडी नविन महतो ‘पुतली’ सहभागी हाम्रो मुग्लिन, इच्छाकामना टिम विजयी बन्न सफल भएको थियो।


