गजुरीमा कार्यवहाक वडा अध्यक्षलाई दिएपछि कांग्रेसद्वारा आपत्ती

Avatar photo
Dhadingpost
साउन १९, २०८२

धादिङ । नेपाली कांग्रेस धादिङका कार्यवहाक सभापति गेहेन्द्र मल्लले एक विज्ञप्ती जारी गर्दै गजुरी गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा अध्यक्षलाई तोकेकोमा आपत्ती जनाएका छन् । पालिका अध्यक्ष चाईना भ्रमणमा जानेबेला कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नम्बर १ का वडा अध्यक्ष तारा भण्डारीलाई दिएर गएपछि कांग्रेस धादिङले विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो ।

कांग्रेस र माओवादीको गठबन्धनबाट अध्यक्षमा माओवादीका गणशलाल श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसबाट शर्मिला बिसुराल निर्वाचित भएका थिए । बेला बखत यी दुईको विवाद सतहमै देखिने गरेको छ । हरेक वर्ष फागुन १ मा अध्यक्षले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको सूचना निकाल्छन् भने उपाध्यक्षबाट सार्वजनिक विदा नभएको काउण्टर सूचना आउँदै आएको छ ।

चाईना जानु अघि पनि कार्यवहाकको जिम्मेवारी उपाध्यक्षलाई नदिईनुले पनि गजुरीमा अध्यक्ष र उपाध्यक्षको राम्रो सम्बन्ध नभएको प्रष्ट देखिन्छ ।

कांग्रेसले विज्ञप्तीमा भनेको छ
नीय तहको सरकार सञ्चालनका लागि बनेको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ उपदफा ४ (क) (१२) मा पदाधिकारीको काम, कर्तव्य र अधिकारमा सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने उल्लेख भएबमोजिम उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्नेमा अन्य सदस्यलाई उक्त जिम्मेवारी तोक्नु सो ऐनको गम्भीर उल्लंघन हो । स्थानीय सरकारप्रति अनास्था उत्पन्न हुने तथा जनप्रतिनिधिबीच अविश्वास सिर्जना हुने गरी तोकिएको जिम्मेवारी कार्यान्वयन नगर्न सम्बन्धित सबैलाई सचेत गराउँदछ ।