
अमृत लामा/सन्तोष तामाङ
धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ३ स्थित ‘सुन चौर’ अर्थात् कुरी गाउँरटोलमा रहेको ल्याक्चे कुण्डमा खुल्ला पालिका स्तरीय पाँचौं पुरुष पौडी प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
ल्याक्चे कुण्ड संरक्षण समाजले विगत चार वर्ष देखि हरेक वर्ष ‘हाम्रो गाउँ आफै बनाऔ भन्ने मूल नारा’ का साथ ल्याक्चे कुण्डको प्रचार-प्रसारका लागि पौडी प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । जस अनुरुप यस वर्ष पनि पौडी प्रतियोगिता भएको हो ।
पौडी प्रतियोगिताको नतिजा
३० देखि ४० वर्ष उमेर समूह तर्फ
प्रथम: विष्णु तामाङ (१मि.२३से.)
द्वितीय: मनराम तामाङ (१मि.२६से.)
तृतीय: विजय लामा (१मि.३१से.)
२० देखि ३० वर्ष उमेर समूह तर्फ
प्रथम: सरुन तामाङ (२मि.३२से.)
द्वितीय: समिर तामाङ (२मि.५०से.)
तृतीय: लोकमान तमाङ (२मि.५८से.)
२५ देखि २५ वर्ष उमेर समूह तर्फ
प्रथम: छिरिङ तामाङ (२मि.४१से.)
द्वितीय: अवतार तामाङ (२मि.४२से.)
तृतीय: आकाश तामाङ (३मि.३५से.)
१० देखि १५ वर्ष उमेर समूह तर्फ
प्रथम: विवेक तामाङ (१मि.१०से.)
द्वितीय: गौतम तामाङ (१मि.१७से.)
तृतीय: वरदान तामाङ (१मि.२१से.)
प्रतियोगितामा ३०–४० वर्ष उमेर समूह तर्फ ९ जना, २० देखि ३० वर्ष उमेर समूह तर्फ ८ जना, २५ देखि २५ वर्ष उमेर समूह तर्फ ६ जना, १० देखि १५ वर्ष उमेर समूह तर्फ ७ जना गरी ३० जनाले भाग लिएका थिए ।
विजेताहरुलाई खनियाबास ३ का अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि कमानसिङ तामाङले पुरस्कार वितरण गरेका थिए । पौडी प्रतियोगिताको अवसरमा अतिरिक्त कार्यक्रम अन्तरगत कुण्ड परिक्रमा महिला दौड र हाँडी फुटाई खेल पनि भएको थियो । जसमा दौड तर्फ सृजना तामाङ प्रथम, उषा तामाङ द्वितीय र पूर्णिमा तामाङ तृतीय भए भने हाँडी फुटाईमा अञ्जु तामाङ प्रथम भएकी थिईन् ।
गत वर्ष समाजले चार समूह बनाएर गरेको उक्त प्रतियोगितामा ४५ जनाले भाग लिएका थिए । जसमा महिला तर्फ बुर्बा तामाङ प्रथम, पुरुष १५-२० वर्ष उमेर समूह तर्फ सरुण तामाङ प्रथम, पुरुष २१-३० वर्ष उमेर समुहमा सुवास तामाङ प्रथम र पुरुष ४० वर्ष माथि उमेर समुहमा राजुबहादुर तामाङ प्रथम भएका थिए ।
किन ऐतिहासिक छ, ल्याक्चे कुण्ड
यस ऐतिहासिक पोखरी (ल्याक्चे कुण्ड) संसारको सृष्टि भए देखि नै अवस्थित रहेको अनुमान स्थानीयवासीको छ । निकै अघि पोखरी धेरै गहिरो रहेको र एक्कासी पोखरी भन्दा माथिबाट पहिरो आएकाले कुण्ड धेरै हदसम्म पुरिएको किम्बदन्ती छ । लाक्चे (लक्चे) भन्ने एउटा फल हुन्छ, जो लहरामा फल्छ । यसलाई ‘लहराना’ पनि भनिन्छ । सोही फलको नामबाट कुण्डको नामकरण गरिएको हुन सक्ने पनि स्थानीयहरु बताउँ छन् । यस कुण्डमा ठुलो एकादशीमा मेला लाग्छ । मेलामा बोन धर्मावलम्बीहरू (स्थानीय भाषामा झाँक्री) अर्थली, कुरी एवम् झार्लाङदेखि आउने गर्छन् । कुण्डमा विभिन्न किसिमका चराचुरुङ्गीहरू आइ पानी माथि खेलिरहेको देखिन्छ ।
जाडोयाममा कुण्डमा तातो पानी
कुण्ड कार्तिकसम्म पानी टलपल टलपल भरिएको हुन्छ । स्थानीयवासीहरू त्यतिबेला यही कुण्डमा नुहाइधुवाई गर्ने गर्छन् । कुण्डदेखि थोरै माथि पानीको मुहान छ, जो जाडो याममा तातो हुने गर्दछ । ल्याक्चे कुण्डमा हिउँ पनि पर्दछ, तर, पछिल्लो समय हिउँ पर्ने सिलसिला कम हुँदै गएको छ । अघिल्लो साल परेको हिउँ ३/४ दिनसम्म बसेको थियो । ल्याक्चे कुण्ड संरक्षण समूहले हरेक वर्ष साउने संक्रान्तिको भोलिपल्ट अर्थात् साउन २ गते पौडी प्रतियोगिता समेत आयोजना गर्दै आइरहेको छ । यस प्रतियोगिताको दिन स्थानीय एवम् आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहने गर्दछ ।
कसरी पुग्ने ल्याक्चे कुण्ड
खनीयाबास कुरी स्थित ल्याक्चेकुन्ड पुग्न धादिङबेसीबाट जीपमा ४ घण्टा लाग्छ भने काठमाडौंबाट नुवाकोट त्रिशूली हुँदै यात्रुवहाक बसमा करिव ९ घण्टा लाग्ने गर्दछ ।
