गल्छीको राष्ट्रपति रनिङ शिल्ड सरस्वतीले जित्यो

Avatar photo
Dhadingpost
पुस १, २०८०

सुमन अधिकारी / धादिङ । गल्छी गाउँपालिका वडा नं ८ स्थित छाङ्गेश्वर मन्दिर परिसरमा २०८० मंसिर २८ देखि सुरु भ‌एको गल्छी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। ९ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै गल्छी गाउँपालिका वडा नं १ को सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालय प्रथम भएको छ ।

यस्तै गल्छी गाउँपालिका वडा नं ४ स्थित जनकल्याण माध्यमिक विद्यालय ५ स्वर्ण २ रजत १० कास्य पदक जित्दै द्वितीय र गल्छी गाउँपालिका वडा नं ५ स्थित अमन्तादेवी माध्यमिक विद्यालय ४ स्वर्ण २ रजत ३ कास्य जित्दै तृतीय भएको छ। यसै गरी गल्छी गाउँपालिका वडा नं ६ स्थित बागेश्वरी माध्यमिक विद्यालय ३ स्वर्ण २ रजत २ कास्य जित्दै चौंथो र गल्छी गाउँपालिका वडा नं ६ कै सक्सेस एकेडेमी ३ स्वर्ण २ रजत जित्दै पाँचौं भ‌एको थियो ।

प्रतियोगिताकै पहिलो स्वर्ण हात पारेर जितको सुरुवात गरेको गल्छी गाउँपालिका वडा नं ८ को गोगनपानी माध्यमिक विद्यालय २ स्वर्ण र २ रजत जित्दै छैठौँ भ‌एको छ भने निरन्तर ३ पटकको विजेता द राइजिङ भिलेज माध्यमिक विद्यालय यस पटक भने कुनै पनि स्वर्ण हात पार्न नसकी ८ रजत र ५ कास्य मात्र जित्दै सातौँ भ‌एको छ भने गल्छी गाउँपालिका वडा नं ४ को किराञ्चोक माध्यमिक विद्यालय ४ रजत २ कास्य जित्दै आठौ र कल्लेरी माध्यमिक विद्यालय २ रजत १ कास्य जित्दै नवौं भएको थियो ।

गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको सभापतित्वमा संचालन गरिएको यस प्रतियोगिताको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी क्षेत्री, कार्यक्रम संयोजकमा गल्छी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख पेमा दोर्जे थोकर तथा विशेष अतिथिमा गल्छी गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारी रहनु भ‌एको थियो। २६ खेल विधा समावेसस यस प्रतियोगितामा गल्छी गाउँपालिका ९ माध्यमिक विद्यालयले सहभागिता जनाएको थिए ।