
धादिङ । रामेछाप हिजोबाट सुरुभएको नेकोस बागमती प्रदेश अन्तरगतका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तरगत पहिलो चरणमा धादिङले सिन्धुली र नुवाकोट सँग खेल्ने भएको छ । धादिङले आज पहिलो खेल सिन्धुली र दोस्रो खेल नुवाकोट सँग खेल्ने छ ।
४ समुह बनाएर खेलाईएको यस प्रतियोगितामा सिन्धुली नुवाकोट र धादिङ समुह ए मा, रामेछाप, चितवन र काठमाडौं समुह बी मा, सिन्धुपाल्चोक, रसुवा र दोलखा समुह सी मा, काभ्रे र मकवानपुर समुह डी मा छन् । प्रत्येक समुह विजेता अर्को चरणमा प्रवेस गर्ने छन् ।
बुधबार भएको रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेल रामेछापले २५–०५,२५–१३ को सोझो सेटमा जित्यो । त्यसपछि सिन्धुली र नुवाकोटबीच भएको खेलमा सिन्धुलीले नुवाकोटलाई २५–२२,२५–१७ को सोझो सेटले पराजित गर्यो । त्यसैगरी सिन्धुपाल्चोक र रसुवाबीच भएको खेलमा सिन्धुपाल्चोकले रसुवालाई २५–१२,२५–१५ को सोझो सेटले पराजित गर्यो ।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका छन । एक टिममा १२ जना खेलाडी सहभागी भएकोे प्रतियोगितामा १ सय ५६ जना खेलाडीको सहभागीता रहेको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने यो प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रत्येक सहभागी समूहलाई सहभागी भएबापत प्रतिसमूह २५ हजार र सेमी फाइनलमा पुगेका समूलाई थप रु २५ हजार आयोजकले दिने योजना रहेको नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशका अध्यक्ष सीताराम कार्कीले बताए । उनका अनुसार कूल रु ३६ लाख ४१ हजार लागत लाग्ने अनुमान गरिएको उक्त प्रतियोगिता ३० हजार मानिसले अवलोकन गर्ने विश्वास गरिएको छ ।

