
काठमाडौं । नेकपा एमालेले औपचारिकरूपमा प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव गरेको छ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले औपचारिकरूपमा ‘प्रचण्ड’लाई यस्तो प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्रीको उत्कट चाहना राखेका प्रचण्डले एमालेसँग सत्ता साझेदारी गर्ने आशंकाले देउवा पनि भयभीत छन्। छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवालाई गठबन्धन जोगाउन हम्मे-हम्मे पर्ने देखिएको छ।
‘एमाले-माओवादी’ सत्ता सहकार्य गर्दा नेम्वाङले दुई शर्तसमेत अगाडि सारेका थिए। उनले राष्ट्रपति एमालेले पाउनुपर्ने र माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई गठबन्धनमा समावेश नगर्ने शर्त प्रचण्डसँग राखेका थिए। दुई शर्त माने एमाले अन्य पदको बाँडफाडमा पनि लचकता देखाउने नेम्वाङले प्रस्ताव गरेको खुमलटार स्रोतले जानकारी दियो।
‘एमाले तपाईं(प्रचण्ड)लाई प्रधानमन्त्री मान्न तयार छ। तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ,’ दुई नेताबीचको सम्वादलाई उद्दृत स्रोतले भन्यो, ‘बाँकी पदहरू एमाले-माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला। देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाऔं। तर अहिले एसबिनाको गठबन्धन बनाऔं।’
समाचार स्रोत अन्नपुर्णपोष्ट

