राष्ट्रपति को बन्ला, यसरी हुन्छ निर्वाचन

Avatar photo
Dhadingpost
पुस ३, २०७९

काठमाडौं । राष्ट्रपति निर्वाचनका मतदाता हुन्छन्, संघीय संसद् (प्रतिनिधिसभा/राष्ट्रियसभा)का सांसद र प्रदेशसभाका सदस्यहरू। प्रतिनिधिसभा २ सय ७५, राष्ट्रियसभा ५९ र प्रदेशसभाका ५ सय ५० जना सदस्य गरी ८ सय ८४ जनाले राष्ट्रपति निर्वाचनमा मत हाल्न पाउँछन् ।

उनीहरूले दिने मतको भार भने फरक हुन्छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभाका सांसदको मतभार ४८ हुन्छ । कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छ । त्यसकारण राष्ट्रपति निर्वाचनका मतदाता पहिल्यै निश्चित हुन्छन् । संविधानको धारा ६३ को उपधारा (१) मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था गरेको छ । र, कानुनअनुसार राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन आयोगले त्यसको जानकारी सरकारलाई दिनुपर्ने व्यवस्था छ ।

०७४ फागुन २९ गते राष्ट्रपतिको निर्वाचन भएको थियो । उक्त चुनावबाट विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । राष्ट्रपति भण्डारी तत्कालीन वामगठबन्धनकी साझा उम्मेदवार थिइन् । त्यसकारण उनले झन्डै दुईतिहाइ मत ल्याएकी थिइन्। उनको मतभार ३९ हजार २ सय ७५ थियो । राष्ट्रपतिमा पराजित कांग्रेसकी कुमारी लक्ष्मी राईको मतभार ११ हजार ७ सय ३० मात्रै थियो । भण्डारी संविधान जारी भएपछि २०७२ कात्तिक १२ गते पहिलोपटक राष्ट्रपति बनेकी थिइन् । त्यसअघि ०६५ मा डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

राष्ट्रपतिको योग्यता

  • संविधानको धारा ६४ अनुसार संघीय संसद्को सदस्य हुन योग्य भएको व्यक्ति।
  • ४५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक।
  • कुनै कानुनले अयोग्य ठहर नगरेको व्यक्ति।
  • सबै योग्यता पुगे पनि नेपालको संविधानअनुसार दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन।
  • उपराष्ट्रपतिका हकमा पनि सोही योग्यता लागू हुने संविधानको धारा ६९ मा व्यवस्था छ।
  • संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुने व्यवस्था गरेको छ।
x