आयात प्रतिबन्ध हट्यो

Avatar photo
Dhadingpost
मंसिर २२, २०७९

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले महँगा सवारीसाधन, मोबाइल र मदिरा आयात प्रतिबन्ध हटाएको छ । बढ्दो आयात नियन्त्रण उपायका लागि भन्दै ८ महिनादेखि लगाउँदै आएको सवारीसाधन, महँगा मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध हटाउने निर्णय भएको हो ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी १ पुसदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको छ । यसअघि, आयातमा प्रतिबन्ध लगाइएका यी चार प्रकारका विलासिताका वस्तु आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा गठित समितिले आयातमा लगाइँदै आएको प्रतिबन्ध खुलाउन सिफारिस गरेको थियो ।

हाल दैनिक उपभोग्य वस्तुलगायत हरेक क्षेत्र आयातमा निर्भर भएर देशको ढुकुटीमा विदेशी मुद्रा सञ्चितिदर ह्वात्तै घटेपछि सरकारले गत वैशाखदेखि विभिन्न १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये गत भदौमा सरकारले विभिन्न ६ प्रकारका वस्तु आयात प्रतिबन्ध खुलाएर बाँकी ४ प्रकारका वस्तुमाथिको आयात प्रतिबन्ध भने कायम राख्दै आएको थियो । मन्त्रिपरिषद्को निणर्यपछि भने अब सबै प्रकारका निजी चारपांग्रे सवारीसाधन, १ सय ५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध हट्नेछ ।

यसअघि निजी क्षेत्रका विभिन्न व्यावसायिक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा अटो मोबाइल एसोसिएसनलगायतले विभिन्न चार प्रकारका वस्तुमाथि लगाइँदै आएको आयात प्रतिबन्ध तत्काल हटाउन माग गर्दै सरकारलाई दबाब दिँदै आएका थिए । गत शुक्रबार मात्र नाडा अटो मोबाइल एसोसिएसनले लामो समयदेखि सवारीसाधन आयातमा लगाइँदै आएको प्रतिबन्ध नहटाएको भन्दै आगामी बिहीबारदेखि कडा आन्दोलन गर्ने घोषणा गरेको थियो ।

कायम सवारीसाधन आयात प्रतिबन्धले ‘अटो व्यवसाय धराशायी हुने अवस्थामा पुगेपछि सरकार र नेपाल राष्ट्र बैंकलाई दबाब दिन’ अटोमोबाइल व्यवसायीले आन्दोलनमा जाने घोषणा गरेका थिए । सवारीसाधनलगायत विलासिताका वस्तु आयातमा लगाइएको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै नाडाले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको थियो ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि ‘चुवानी कार्यक्रम’मा दिएको आश्वासनअनुरूप नै गठबन्धन सरकारले व्यवसायी खुसी पार्न यस्तो निर्णय गरेको हो । यसअघि व्यवसायीले सरकारसमक्ष चर्को बैंक ब्याजदर नियन्त्रण, ५० प्रतिशत नगद मार्जिन घटाउने, शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था खारेज तथा मौद्रिक नीति परिमार्जनलगायत माग राख्दै आएका थिए ।

आठ महिनादेखि पेट्रोलबाट चल्ने निजी सवारीसाधन पूर्णरूपमा आयात प्रतिबन्ध छ भने दुईपांग्रेतर्फ १५० सीसी तलका मोटरसाइकल मात्रै आयात खुला गरिएको अवस्था छ । राष्ट्र बैंकले आयात गर्न पाउने सवारीसाधनमा शतप्रतिशत मार्जिन व्यवस्था कायमै राखेको छ । सरकारले यसअघि गरेको निर्णयअनुसार हाल सवारीसाधन आयातमाथि प्रतिबन्ध लम्ब्याएको अवधि मंसिर मसान्तसम्म कायम रहनेछ ।

यसअघि चार प्रकारका विलासिताका वस्तु आयात प्रतिबन्ध हटाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएका थिए । मन्त्रिपरिषद्ले गरेको यो निर्णय अब राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुनेछ ।

x