प्रदेशमा समानुपातिकबाट ७६% महिला आउँदै

Avatar photo
Dhadingpost
मंसिर १९, २०७९

काठमाडौं । प्रदेश सभामा समानुपातिक प्रणालीबाट चुनिने दुई सय २० सांसदमध्ये करिब ७६ प्रतिशत महिला आउने भएका छन् । प्रदेश सभाका कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । दलहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट वितरणमै चरम उपेक्षा गरेका थिए । त्यसमध्ये पनि निर्वाचित हुनेको संख्या अत्यन्त न्यून भएपछि महिला उपस्थितिको पूर्ति समानुपातिकबाट गर्नुपर्ने बाध्यता दलहरूलाई छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षबाट एकजना पनि महिला निर्वाचित भएका छैनन् । प्रदेश १ बाट दुई, मधेसमा चार, बागमतीमा पाँच, गण्डकीमा दुई र लुम्बिनीमा प्रत्यक्षबाट एकजना महिला मात्रै निर्वाचित भएका छन् । प्रदेशमा अहिलेसम्म दलहरूले पाएको मतलाई केलाउँदा सातवटै प्रदेशमा समानुपातिकबाट आउने दुई सय २० सांसदमध्ये एक सय ६७ जना महिला हुने देखिन्छ ।

समानुपातिकबाट सबैभन्दा धेरै महिला मधेस र बागमती प्रदेशबाट ३१–३१ जना छानिने देखिन्छ । त्यस्तै, प्रदेश १ बाट २९, लुम्बिनीबाट २८, गण्डकीबाट १८, सुदूरपश्चिमबाट १७ र कर्णालीबाट १३ जना महिला छानिने सम्भावना छ । नयाँ पत्रिकाबाट

x