प्रम कार्यालयले नै लुकायो प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति

Avatar photo
Dhadingpost
अशोज ३, २०७९

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने अझै पनि प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण भने सार्वजनिक गर्न सकेको छैन । ढेड साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक गर्ने निर्णय गरे पनि अझै गोप्य

तर, सो निर्णय भएको ढेड साता बितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरू सबैको सम्पत्ति विवरण गोप्य राखेको हो । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने दायित्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै हो तर सो कार्यालयले बेवास्ता गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो । प्रधानमन्त्री कार्यालय स्रोतले भने सबैको सम्पत्ति विवरण प्राप्त भइसकेकको र दुई÷चार दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको दाबी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीले एक वर्षदेखि नै सम्पत्ति विवरण गोप्य राख्दै आएका थिए । उनीहरूले सम्पत्ति विवरण गोप्य राखेकोमा व्यापक विरोध हुन थालेपछि एक वर्षपछि मात्रै मन्त्रिपरिषद् बैठकले सम्पत्ति सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सरकारमा आएको ६० दिनभित्र वा आर्थिक वर्ष सकिएको ६० दिनभित्र आपूm र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । तर, वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण एक वर्षदेखि गोप्य रहँदै आएको छ ।

२०४६ सालको जनआन्दोलनको सफलतापछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासनकालमा प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालिएको थियो । त्यसपछि बनेका अधिकांश सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आइरहेका थिए । तर, पारदर्शी मानिने सो अभ्यास र परम्परालाई वर्तमान देउवा नेतृत्वको सरकारले तोडेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त हुनासाथ आप्mनो वेभसाइटमार्फत सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने गथ्र्यो तर यसपटक भने सार्वजनिक गरिएको छैन ।

हालसम्म प्रधानमन्त्री देउवाको सम्पत्ति विवरण गोप्य नै छ । यसैगरी गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्री पम्फा भुसाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, खानेपानीमन्त्री उमाकान्त चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको सम्पत्ति विवरण अझैसम्म गोप्य राखिँदै आइएको छ । यसैगरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, कानुनमन्त्री गोविन्दप्रसाद कोइराला, शिक्षामन्त्री देवेन्द्र पौडेल, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, महिलामन्त्री उमा रेग्मी, भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रममन्त्री शेरबहादुर कँुवर, वनमन्त्री प्रदीप यादव र युवामन्त्री महेश्वरजंग गहतराज, राज्यमन्त्री उमेश श्रेष्ठ, हिराबहादुर केसी, र बोधकुमारी यादवको सम्पत्ति विवरण पनि गोप्य राखिएको छ । राजधानी दैनिकबाट

x