
काठमाडौं । चौतर्फी विरोध र आलोचना भएपछि सरकारले पर्यटनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनमा पक्राउ गरिएका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई साधारण तारेखमा छाडेको छ । गुरुङलाई जिल्ला प्रशासनले आइतबार मात्रै थप अनुसन्धान गर्न भन्दै पाँच दिनको म्याद थप गरेको थियो । गृहमन्त्री खाणको निर्देशनपछि प्रशासनले उनलाई सोमबार साँझ पत्नी लक्ष्मी गुरुङको जिम्मा लगाएको हो ।
रिहाइपछि गुरुङले आफू निर्दोष भएको र मन्त्रीसहितको टोलीलाई ‘लाइन बस्न’ आग्रह गरेकै कारण जबर्जस्ती फसाइएको बताए । ‘मेरो कुनै दोष छैन । मैले उहाँहरूलाई लाइनमा बस्नु मात्रै भनेको हुँ । तर, उहाँले मान्नुभएन । उल्टै मसँग झगडा गर्न आउनुभयो । मैले त इमानदारीपूर्वक आफ्नो ड्युटी निभाएको हुँ,’ उनले भने ।
घटना सार्वजनिक भएपछि मन्त्री श्रेष्ठको चौतर्फी आलोचना सुरु भयो । दबाबमा आएका उनले गरुड सेक्युरिटिज र गुरुङले माफी मागेकाले रिहा गर्न भनेको दाबी गरेका छन् । तर, सेक्युरिटिज कम्पनी र गुरुङले भने आफूहरूले गल्ती नै नगरेकाले माफी माग्नुपर्ने कारण नै नभएको बताए ।

