
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ०६४ को चुनावमा जस्तै सक्रियता पूर्वक परिचालन हुन प्रचण्डले वाईसीएललाई निर्देशन दिएका छन् ।
वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको चुनाव माओवादीले हार्ने छुट नभएको भन्दै ०६४ को चुनावमा वाईसीएल जसरी जागेको थियो अब विचलित नभई त्यहि अनुरुप जाग्न निर्देशन दिएका हुन् ।
पहिलो संविधानसभा निर्वाचनलाई सफल बनाउने र क्रान्तिकारी शक्तिलाई देशलाई प्रमुख शक्तिको रूपमा स्थापित गर्ने काममा वाईसीएलको भूमिका निर्णायक सवित भएको उल्लेख गर्दै प्रचण्डले पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने गम्भीर स्थिति छ त्यसैले वाईसीएल नेपाल र तपाईं युवाहरूको भुमिका निर्णायक हुनुपर्छ । चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ । क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु उनले भने ।
देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए । क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।
‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ सुरुभएको वाईसीएलको दोस्रो राष्ट्रिय भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी छन् । जसमा केन्द्रीय समितिबाट एक सय ९६, प्रत्येक जिल्लाबाट तीन-तीन जना गरी दुई सय ५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी छन् ।
