
काठमाडौं । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको समय मंगलबार सकिएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर चुनावमा जाने प्रावधान अनुरुप यसरी निवेदन दिने दलको संख्या चार रहेको छ।
अर्यालले भन्नुभयो, “अन्तिम समयसम्म ८४ वटा दल दर्ता भएको देखिन्छ। प्राप्त निवेदनमा भोलिबाट हेर्ने, केलाउने काम हुन्छ। दुई वा दुईभन्दा बढी दलहरु मिलेर संयुक्त रुपमा चुनाव लड्ने प्रावधान अनुरुप यस्तो चार समूह रहेको छ।” देशको प्रमुख राजनीतिक दलमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले यसअघि एकल रुपमा दर्ता गरे पनि डा. बाबुराम भट्टराईसहितको एउटै चुनाव चिह्नमा मंगलबार पुनः दल दर्ता गर्नुभएको उहाँले बताउनुभयो।
माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार मंगलबार फेरि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकल चुनाव चिह्नमा जाने गरी दल दर्ताको निवेदन दिन शिव खकुरेल र फणिन्द्र देवकोटा निर्वाचन आयोग पुग्नुभएको थियो।
यसैगरी नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमसमेत माओवादी केन्द्रकै चुनाव चिह्नमा आगामी संघीय निर्वाचनमा भाग लिने सहमति गर्नुभएकाे छ। आयोगले दर्ता भएका दलका प्राप्त कागजात अस्पष्ट वा नपुगेको भए त्यस्ता कागजात माग्ने काम गर्नेछ। “अब डकुमेन्टमा कतिपय अस्पष्ट भएकोमा स्पष्ट हुने, नपुगेको डकुमेन्ट माग्ने र स्वीकृति दिने काम हुन्छ”, अर्यालले बताउनुभयो।
उहाँले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागिताका लागि स्वीकृति दिने काम टुंगाएपछि मात्रै निर्वाच्नमा भाग लिने दलको खास संख्या यकिन हुने बताउनुभयो।

