बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डे फेर्न कांग्रेस–माओवादी एकमत

Avatar photo
Dhadingpost
असार १७, २०७९

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएको छ। प्रदेशसभाबाट बिहीबार बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीले आफ्ना प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलन गरेको हो।

नेकपा एकीकृत समाजवादीले आलोपालो मुख्यमन्त्री चलाउने सहमति कार्यान्वयन गर्न अटेर गरेको भन्दै कांग्रेस र माओवादीले दबाब दिन हस्ताक्षर संकलन अभियान थालेको जनाएको छ। ‘मुख्यमन्त्री परिवर्तन हैन, सहमति कार्यान्वयनको अभियान हो,’ कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले भने, ‘सरकारमा रहेको तीन दलबीच भएको सहमति कार्यान्वयनको चरणमा अघि बढेको छ। त्यसको लागि हस्ताक्षर संकलन हो।’ कांग्रेस र माओवादीले मुख्यमन्त्री पाण्डेले सहजै पद नछाडे अविश्वासको प्रस्ताव दर्ता गराउने उद्देश्यले हस्ताक्षर संकलन गरेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रीय सहमति भएमात्र आफूले मुख्यमन्त्री छाड्ने स्पष्ट अडान राखेका छन्। उनले बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने बताएका छन्। ‘बागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ। गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछ,’ उनले बिहीबार अपराह्न ट्वीट गरेका छन्।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्नुअघि नयाँ आर्थिक वर्ष २०७९/८० को बजेटपछि सरकारको नेतृत्व कांग्रेसलाई दिने सहमति भएको पत्र सार्वजनिक भएको थियो। उक्त सहमति कार्यान्वय हुनुपर्ने कांग्रेस र माओवादीको माग छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट पास भएसँगै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा छन्। कांग्रेसको अभियानलाई नेकपा माओवादी केन्द्रले पनि साथ दिएको छ। ‘तीन दलबीच सहमति भएको हो। यसको कार्यान्वय हुँदा गठबन्धनलाई अघि बढाउन सहज हुन्छ,’ माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले भने। माओवादी केन्द्रकी प्रदेशसभा सदस्य सीता अधिकारीले फेरि दलका सबै प्रदेशसभा सदस्य जुट्न प्रदेशसभा बैठक बस्नुपर्ने भएकाले आवश्यक भए प्रयोग गर्नेगरी हस्ताक्षर दलका नेतालाई बुझाइएको बताइन्।

राजेन्द्र पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका गरी ५९ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तीमध्ये समाजवादीको मात्र १३ जना प्रदेशसभा सदस्य छन्।

मुख्यमन्त्री पाण्डेलाई दबाब बढाउन माओवादी र कांग्रेसले मन्त्रिपरिषद्मा सहभागी आफ्नामन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी भइरहेको बताइएको छ। असारको अन्तिममा केन्द्र सरकारले प्रदेश र संघको निर्वाचन मिति घोषणा गर्ने सम्भावनाका कारण पनि कांग्रेस र माओवादीले दबाब बढाएको हो।

बहुमतले बजेट पारित
बागमती प्रदेश सरकारको नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ। बिहीबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले बजेट पारित भएको हो।

असार १ गते प्रदेश सरकारले सदनमा प्रस्तुत बजेटमा नेकपा एमालेले विरोध गर्दै सदन अबरुद्ध गरेको थियो। बजेट संशोधनमा एमालेका योजनाहरू पनि समावेश सहमतिमा बजेट पारित गरिएको हो। उक्त सहमतिपछि एमालेले भने बजेटमा समर्थन नगरे पनि बजेट पारित गराउन बसेको बैठक अबरुद्ध भने गरेन।

गठबन्धन दलसँग प्रदेशसभामा रहेका १०७ जना प्रदेशसभा सदस्यमध्ये ५९ सदस्य छन्। आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारको ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट पारित प्रदेशसभाले पारित गरेको हो। कृष्ण सारु मगरको यो समाचार अन्नपूर्णपोष्टले प्रकाशित गरेको छ ।

x