पेट्रोलियम पदार्थकाे मुल्य नघटाए आन्दोलन गर्छाै -जगत सिंखडा

Avatar photo
Dhadingpost
असार ६, २०७९

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले एक विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका छन् ।

वागमति प्रदेशका सांसद समेत रहेका अध्यक्ष सिंखडाले युक्रेन जस्तो अमेरिकी प्यादाको समर्थन गरी तेलको संकट रुस र युक्रेन युद्धको कारणले भनि ढाँटेर जनतालाई बेबकुफ बनाई रहेको बताउँदै निगमभित्रको अनियमितता र चुहावटलाई कडाईकासाथ रोक्तै तत्काल भाउ घटाउँन माग गरेका हुन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, नेपाल सरकारले केही दिन अघिमात्र रु. १० रुपैयाँ डिजेल, मट्टितेल र पेट्रोलको भाउ घटाएको मसी सुक्न नपाउँदै फेरी निगम संचालक समितिको निर्णय भन्दै पेट्रोलको भाउ थप रु.२१ ले डिजेल र मट्टितेलको भाउ रु. २७ ले बढाएको छ ।

पेट्रोलको भाउ हाल रु. १९९ र डिजेलको रु. १९२ भएको छ । त्यसकै आधारमा हरेक उपभोग्य खाद्य सामान, निर्माण सामाग्री,यातायात तथा सेवा क्षेत्रको सामानको बृद्धिमा चेन रियाक्शन पर्न गई नेपाली आम जनताको हुर्मत लिने काम भएकोछ ।

त्यसकारण नेपाल सरकारले अन्य बैकल्पिक शुल्कहरु भारीमात्रामा हटाई, कटाई इन्धनको भाउ तत्कालै घटावस भनि माग गर्दछु ।

गठबन्धन सरकारले यसरी जनताप्रति भाउ बढाई गरेको अत्याचारको विरुद्धमा अन्टुफसित आबद्ध सबै पेसागत संघहरुले तत्कालै विरोध गरुन् र आकासिँदो मूल्य बृद्धिलाई रोक्ने कदम चालुन ।

नेपालभित्र उत्पादन भएका हरेक खाद्यान्न, तरकारी, फलफूल, पानी लगायतका बस्तुको भाउ अचाक्ली बृद्धि भएको छ के यस्लाई रुस र युक्रेनको युद्धका कारणले भनि जनतालाई ढाँट्न मिल्छ ?

राज्य संयन्त्रले सही ढंगले काम नगरेकोले, नियन्त्रण नगरेकोले अनुगमन नगरेकोले, लागत मूल्य बिक्री मूल्यको अध्ययन विश्लेषण नगरेको कारणले मनपरी भएको हो, गरेको हो ।