
काठमाडौं । सरकारले १ साउनबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही गर्ने भएसँगै विरोध चर्किएको छ । सरकारको यो निर्णय विरुद्ध सामाजिक संजालहरुमा चर्को विरोधको भैरहँदा सोमबार सडकमा मसाल जुलुस समेत देखियो ।
सोमबार इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस प्रर्दशन भएको छ, प्रदर्शनकारीले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
सरकारले तोकेको मितिमा सवारीसाधनमा इम्बोस्ड नम्बर जडान नगरेमा ६ महिनासम्म कैद सजाय हुने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । यातायात व्यवस्था ऐन, २०४९ मा सरकारले तोकेअनुसारको मितिभित्र आफ्नो सवारीसाधनमा इम्बोस्ड प्लेट नम्बर जडान नगरे ६महिना सम्म कैद सजाय हुन सक्ने व्यवस्था छ ।
बागमती र गण्डकी प्रदेशलाई १ साउनदेखि अनिवार्य गरिएको छ । बागमती र गण्डकी प्रदेशमा सवारीसाधनको संख्या अधिक भएकाले यी प्रदेशको नाम तोकिएको महानिर्देशक घिमिरेले बताए । ‘यसको मतलब साउनदेखि इस्बोस्ड नम्बर जडान नगरेकालाई सवारीसाधन नै चलाउन नदिने नै चाहिँ होइन । तर, प्रदेश सरकारले बाँकी रहेको १५ महिनालाई लक्षित गरी इम्बोस्ड नम्बर प्लेट दर्ता गर्ने तालिका तयारी गरोस् भन्ने हो,’ उनले भने ।
कति लाग्छ इम्बोस्ड नम्बर प्लेट जडानका गर्न
विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट जडानका गर्न दुईपांग्रे सवारीसाधनका लागि दुई हजार ६ सय शुल्क लाग्नेछ । तीनपांग्रे साधनका लागि दुई हजार नौ सय, साना सवारीसाधनका लागि तीन हजार दुई सय र ठूला सवारीसाधनका लागि तीन हजार ६ सय रुपैयाँ लाग्नेछ । यो शुल्क अति नै महँगो भएको सर्वसाधारणले गुनासो गरेका छन् ।

