
काठमाडौं । काठमाडौं महानगरको मतगणनामा कहिलेसम्म टुंगिन्छ भन्ने अझै अनिश्चित छ । गणनाको गति यति सुस्त छ कि ३२ वटा वडा रहेको महानगरमा शनिबार रातिसम्म १२ वडाको मात्र नतिजा आएको छ । तीन लाख दुई सय ४२ मतदाता रहेको महानगरमा ६३.६० प्रतिशत अर्थात् एक लाख ९० हजार नौ सय ५६ मत खसेको थियो । औसतमा दैनिक १२ हजार पाँच सय मतगणना भएको छ । शनिबार रातिसम्म एक लाख मत मात्रै गणना भएको छ । थप ९० हजार मतगणना हुन बाँकी छ । अहिलेकै अवस्थामा सबै मतगणना सकिन एक साता लाग्छ ।
सुस्त मतगणनाबाट गणक मात्र होइन, उम्मेदवार, दलका प्रतिनिधि र परिणाम कुरेर बसेका मतदातासमेत थाकिसकेका छन् । तर, जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले आइतबार बिहानसम्ममा एक लाख गणना सकिने बताए ।
सुरुवाती चरणमा ६ स्थानबाट गरिएको भए पनि त्यसलाई बढाएर हाल नौ स्थानबाट गणना गरिएको छ । ३२ वटा वडामध्ये शनिबारसम्ममा १, २, ३, ४, ५, ६, ८, २८, २९, ३०, ३१ र ३२ गरी जम्मा १२ वडाको मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आइतबार बिहानसम्म थप सातवटा वडाको नतिजा आउन सक्ने जनाएको छ ।
हाल मतगणना भइरहेका ७, ९, १०, २५, २६ र २७ नम्बर वडाको नतिजा आइतबार बिहानसम्म आउने आयोगको दाबी छ । ११ देखि २४ वडासम्मको अर्थात् १४ वटा वडाको गणना बाँकी रहनेछ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख भट्टराईले मतपत्रको आकार ठूलो हुँदा गणनामा ढिलाइ भएको बताए । उनका अनुसार दलहरूबीचको तालमेल र स्वतन्त्र उम्मेदवार धेरै भएकाले गणनाका क्रममा सबै उम्मेदवारका प्रतिनिधिको सहमति लिनुपर्ने भएकाले पनि गणनामा ढिलाइ भएको हो ।
तुलनात्मक रूपमा अन्य महानगरमा भन्दा काठमाडौंको मतगणना छिटो भएको उनको दाबी छ । ‘अन्य महानगरको तुलनामा काठमाडौं महानगरको गणना छिटो हो । उदाहरणका लागि ललितपुर महानगरको जम्मा १९ लहरको मतपत्र हो । तर, काठमाडौंमा ६४ लहरको मतपत्र छ,’ उनले भने, ‘दलहरूबीचको तालमेल र स्वतन्त्र उम्मेदवारको गणना गर्दा निकै होसियारीका साथ गर्नुपर्ने हुन्छ । निर्वाचन अधिकृतको कार्यालयको कमजोरीका कारण मतगणना ढिलाइ भएको होइन ।’
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले ०७४ कै गल्ती दोहोरिएको सुनाए । ‘०७४ को स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मतगणना सुस्त थियो । यसपालि पनि त्यो गल्ती दोहोरियो,’ उनले भने, ‘अब यस्तो हुन नदिन ऐन नै संशोधन गरेर मेयर र उपमेयरको छुट्टै मतपत्र बनाउनुपर्छ र वडाको मतगणना वडामा नै गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । छिटो मतपरिणाम दिन यही नै उत्तम विकल्प हुने देखिन्छ ।’

