धादिङमा पहिलोबाट तेस्रोमा झर्‍यो एमाले

Avatar photo
Dhadingpost
जेष्ठ ७, २०७९

धादिङ । यो स्थानीय तह निर्वाचनमा नेकपा एमाले धादिङले सबैभन्दा बढी क्षति ब्यहोरेको छ । ०७४ सालको चुनावमा ८ वटा गाउँपालिका जित्दै राम्रो पकड जमाएको एमाले धादिङले यो पटक फुटको चोटले गठबन्धन सँग प्रतिस्पर्धा गर्न सकेन र तेस्रोमा झर्न पुग्यो ।

०७४ मा धुनीबेसी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, सिद्धलेक, नेत्रावती डवजोङ, त्रिपुरासुन्दरी, गंगाजमुना गरी ८ वटा पालिका जितेको एमालेले यो पटक २ वटा गाउँपालिका प्रमुखमा चित्त बुझाउन वाध्य भएको छ । यो पटक थाक्रेमा गठबन्धनका उम्मेदवार राम प्रसाद बिडारीलाई पराजित गर्दै एमालेका राम कुमार आचार्यले प्रमुख जितेका छन् । भने गल्छीको अध्यक्ष्मा गठबन्धनका उम्मेदवार कृष्ण हरी श्रेष्ठलाई पराजित गर्दै एमालेका केदारनाथ खतिवडा विजयी भए । एमालेले हराएको दुबै उम्मेदवार कांग्रेसका हुन् ।

यो पटक धादिङमा सबैभन्दा ठुलो दल कांग्रेस बनेको छ उसले ७ वटा प्रमुख, ५ वटा उप प्रमुख र ३६ वटा वडा जितेको छ । यस्ते ०७४ मा तेस्रो बनेको माओवादी यो पटक दोस्रो बनेको छ उस्ले ३ प्रमुख, ५ उप प्रमुख सहित ३२ वटा वडा जित्यो । त्यस्तै पहिलोबाट तेस्रोमा झरेको एमालेले २ वटा प्रमुख र २१ वटा वडामा चित्त बुझाएको छ । यसैगरी एकीकृत समाजवादीले १ प्रमुख ३ उप प्रमुख सहित ६ वटा वडा, स्वतन्त्रले ४ वटा, राप्रपाले ४ वटा, जसपाले १ वटा वडा जितेका छन् ।