
काठमाडौं । बेलायत बस्दै आएकी तेस्रोलिंगी महिला लिजा लिम्बूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितमा क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीलाई आर्थिक सहयोग गरेकी छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा वकालत गर्दै आएका देशभरका विभिन्न संघसंस्थामा इन्टरनेटको पहुँच विस्तारका लागि भन्दै समाजसेवी लिम्बूले सोसाइटीलाई ४५ हजार रुपैयाँ नगद सहयोग गरेकी हुन् ।
सोमबार सोसाइटीको कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यकारी प्रमुख मनीषा ढकाललाई सो नगद हस्तान्तरण गरिएको हो । समुदायको मुद्दा तथा अभियानलाई सामाजिक सञ्जालमार्फत अघि बढाउन सहयोग पुग्ने हिसाबले इन्टरनेट खर्चबापत सो रकम प्रदान गरेको समाजसेवी लिम्बूले जानकारी दिइन् ।
यसअघि अनाथ बालबालिका, विपन्न परिवार, दुःखी र असहायलाई सहयोग गर्दै आएकी लिम्बूले आगामी दिनमा समुदायको अभियानमा आफ्नो सहयोग रहने प्रतिबद्धता पनि जनाइन् । कार्यकारी प्रमुख ढकालले लिम्बूको सानो सहयोगले समुदायको अभियानमा टेवा मिल्ने र विश्वभर छरिएर रहेका नेपालीहरूमा पनि समुदायको अभियानमा साथ दिनुपर्छ भन्ने प्रेरणा मिल्ने बताइन् ।
सन् २०१८ देखि बेलायतमा बस्दै आएकी समाजसेवी लिम्बू समाजमा यौनिक तथा लैंगिक समुदायका व्यक्तिको जन्म हुनु प्राकृतिक भएकाले सामान्य रूपमा लिनुपर्ने धारणा राखिन् । बेलायत तथा अमेरिकाजस्ता देशहरूमा एलजिविटीआई समुदाय स्वतन्त्र र कानुनी अधिकार प्राप्त भएकाले सामान्य लिने गरेको साथै नेपालमा पनि समुदायका व्यक्तिलाई समान अधिकार हुनुपर्ने बताइन् । राजधानी दैनिकबाट

