कार्यकर्तालाई देउवाको निर्देशन- सत्ता गठबन्धनको विरोध नगर्नू

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०७८

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनको विरोध नगर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले बताए ।
कांग्रेसले आसन्न चुनावलक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

देउवाले स्थानीयदेखि संघीय तहमा हुन गइरहेको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन दिलाउनेगरी लाग्न समेत निर्देशन दिएका छन् । सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा देउवाको जोड छ ।

बैठकमा नेता महरले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति केन्द्रीय समितिको बैठकबाटै तय हुनुपर्ने उनको भनाइ छ। गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्ने महरको भनाइ छ ।

x