
काठमाडौं । अमेरिकी सहायता एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि भन्दै सत्ता गठबन्धनको बैठक पनि बस्दै छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, पक्षमा उभिने या विपक्षमा भन्ने विषयमा गठबन्धनका आबद्ध दलहरुबीच छलफल हुनेछ ।
सुरूदेखि नै एमसीसीको विरोध गर्दै आएको माओवादीले यथास्थितिमा एमसीसी संसदमा लैजाने भए आफू विपक्षमा मतदान गर्ने र सरकारबाटै बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवा समेत बुधबार एमसीसी प्रस्तुत नगर्ने पक्षमा पुगेका थिए । आज गठबन्धनमा थप छलफल गरेर ठोस गर्ने बताइएको छ ।
देउवाले कठोर निर्णय लिनुपर्ने हुन्छ । उनले लिने निर्णयमा गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गर्ने नै हुने देखिइसकेको छ । देउवालाई काँग्रेसभित्रै गठबन्धन तोड्ने दबाब बढिसकेको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति विना देउवाका लागि गठबन्धन तोड्नु अर्को जोखिम भइसकेको छ ।
गठबन्धन तोडेपछि देउवा अल्पमतमा पर्नेछन् । उनले फेरि विश्वासको मत लिनुपर्ने विषय उठ्नसक्छ । अर्कोतर्फ, एमसीसी १६ फागुनभित्र पारित गर्ने अडान लिएका देउवाका लागि धेरै समय छैन । अबको १२ दिनमा एमसीसी पारित गर्न नसके देउवा यस विषयमा असफल सावित हुनेछन् ।
देउवाले एमसीसीका लागि ओलीसँग सहमति गर्दा कतिपय शर्तहरु पूरा गर्नुपर्ने हुनसक्छ । विश्वस्त स्रोतका अनुसार ओलीका विश्वासपात्रहरुले देउवालाई विभिन्न सर्तहरु राख्न थालिसकेका छन् । जसमध्ये देउवा परमादेशबाट बनेको प्रधानमन्त्री रहिरहन नहुने विषय पनि छ । उनी या त फेरि एमालेको समर्थनमा प्रधानमन्त्री पुनः बन्नुपर्ने अवस्था आउँछ या त सत्ता छाड्ने अवस्था पनि बन्न सक्छ ।

