
धादिङ । गुर्दुमका ६५ परिवारलाई जीउनभन्दा पिउन गाह्रो भएको छ । तामाङ समुदायको मात्र बसोबास रहेको गाउँभन्दा माथि पानीको मुहान नभएपछि तामाङ समुदायले एउटै धारोबाट पानी खाँदै आएका छन् । गाउँभरिमा एउटामात्र धारो हुदाँ २४ सै घण्टा धारोमा पानी लिन पालो बस्नेको भीड नै लाग्छ । धारोबाट पानी बोकेर आधा घण्टासम्म हिँडनु पर्ने ठाउँसम्म बस्ती छ । यहाँ खानेपानी समस्या भएका १०-१२ वर्षको कुरा होइन । यहाँका मानिस एक घण्टा हिँडेर खोलाको पानी बोकेर पुस्तौंपुस्ता बिताइसकेका छन् ।
धुनीबेसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ पृथ्वी राजमार्ग र त्रिभुवन राजपथबाट करिब ४ घण्टाको पदैल हिँडाइमा पुग्न सकिन्छ । गाउँ महाभारत लेकको काखमा भए पनि रमणीय छ । “उज्यालो हुनासाथ हिमाल देख्न पाइन्छ । बस्न आनन्द छ । तर खानेपानी समस्याले दिक्क लाग्छ,” मजुवा गाउँबाट विवाह गरेर आएकी विष्णुमाया तामाङले भनिन् । उनी भन्छिन्, “खानेपानी जोहो गर्नै गाह्रो छ । व्यक्तिगत सरसफाइ तथा घरको सरसफाइ गर्ने कुरा त झन गाह्रो छ ।” उनी स्थानीय गुर्दुम आधारभूत विद्यालयमा पढाउँछिन् । बालबालिकालाई सरसफाइका कुरा सिकाउन नै अफ्ठयारो हुन्छ । कपडा सफा लगाउ, नुहाएर आउ भन्यो पानी छैन म्याडम भनेर भन्छन् । विद्यार्थी नुहाउने बिदाको दिनमात्र हो विष्णु मायाले भनिन् ।
बिहानको ५ बजे धारोमा भेटिएका सानुकान्छी तामाङको सात जनाको परिवार छ । उनले पाँच जर्किन (एक सय लिटर) पानीले २४ घण्टा बिताउनु पर्छ । एउटा राँगो, दुई वटा गाई, १९ बाख्रालाई समेत पाँच जर्किन पानीबाट पु¥याउनु पर्छ । राति १२ बजे नै पहिलो खेप पानी लगेकी कान्छी तामाङ पनि फेरि पाँच बजे पालो आउने आशामा धारोमा आइन् । उनले बढी पानी पाएको बेला १० जर्किनसम्म लगेको बताइन् । आठजनाको परिवार छ । एउटा राँगो र २८ वटा बाख्रा पालेकी छन् । उनलाई पनि पानीकै पिरलोले निद्रा लाग्दैन । सुशीला तामाङले अघिल्लो साँझै अरु खाना खाने बेला छोपेर तीन जर्किन पानी भरेकी रहेछिन् बिहान पाँच बजे दुईवटा जर्किन पालोमा राखेर अघिल्लो दिन भरेको दुई जर्किन पानी बोकेर गइन् ।
गाउँ बाहिरका मानिस त्यहाँको धारोमा पुग्दा निकै फरक दृश्य देख्न सकिन्छ । ६० वटाभन्दा माथि जर्किन पालोमा राखिएका हुन्छन् । सबै जर्किनको दायाँ बायाँ आ–आफ्नो नाम लेखिएको हुन्छ । अहिलेसम्म भाँडा नसाटिएको र पानीको पालो मिच्ने निहँुमा झगडा नभएको अगुवा महिला माइली तामाङले बताइन् ।
यहाँ मानिसहरू नुहाइधुवाइ गर्नुपरे गाउँको फेदीमा रहेको खोल्सीमा जान्छन् । बिदाको दिन खोल्सीमा उज्यालो भएदेखि २-३ बजेसम्म लुगा धुने र नुहाउने बालबालिकाको भीड नै लाग्छ । एक महिनासम्म लगाएको एक भारी कपडा लिएर खोल्सी पुगेकी शर्मिला तामाङ दुःखेसो पोख्दै भनिन्, “कपडा धुने र नुहाउनेको पनि भीड लाग्छ । पालो पर्खेर लुगा धुने नुहाउने गर्नुपर्छ ।” हामी महिलालाई सार्वजनिक ठाउँमा बसेर नुहाउन गाह्रो हुन्छ शर्मिलाले बताइन् । यहाँ मानिसको भैंसी पाल्ने सपना अधुरै रहेको गाउँका अगुवा साइला तामाङले बताए । पानी अभावमा भैसी पाल्न सकिएको छैन । सबैको घरमा गाईगोरुमात्र छन् । गाईगोरुलाई चराउन लैजाँदा खोल्सीसम्म लगेर पानी खुवाउने गरिन्छ । कसैकसैले राँगा पालेका छन् । भान्साबाट निस्केको पानी संकलन गरेर खुवाउँछन् साइलाले भने ।
२०७१ सालमा खोल्सीको पानी तानेर गाउँमा धारा बनाउने कार्यक्रमअनुसार काम भइरहेका बेला भूकम्प गयो । २०७४ सालमा योजना सम्पन्न भयो माइक्रोहाइड्रोको बत्तीको पावर नपुगेर पानी तान्न सकिएन । पछि रिम्स नेपालको सहयोगमा पानी तान्ने मोटर सानो किनेर पानी तानेका छौं । सानो मोटर भएकाले पानी पर्याप्त तान्न सक्दैन । गाउँको छेउसम्म मुहानबाट ल्याएको पानी पनि फागुन लागेपछि सुक्छ । धित मर्ने गरी पानी खान नपाई मरिने भयो भन्छन् ८८ वर्षीय वीरमान तामाङ । विगतमा गाउँमा पानी ल्याउन आफूले गरेको संघर्ष सम्झन्छन् । त्यति बेला अहिलेको जस्तो प्रविधि र बजेट थिएन । बल्लतल्ल पाइपमा पानी ल्याइयो वीरमान भन्छन् ।
धुनीबेसी नगरपालिकाको स्वच्छ खानेपानीमा नागरिकको पहुँच अभिवृद्धि गर्ने कार्यक्रमअनुसार चालू आवमा ४० लाख बजेट विनियोजन गरेको उपप्रमुख निरु खरेलले बताइन् । पानी लिफ्ट गर्नु पर्नेछ । दुई लिफ्ट नगरी सिरानको घरमा पानी पु¥याउन सकिँदैन । बिजुली बत्तीको राष्ट्रिय प्रसारण लाइनसमेत पुगेको छैन । बत्ती नपु¥याई खानेपानी तान्न सकिँदैन । सकेसम्म यही कार्यकालमा योजना सम्पन्न गर्ने पक्षमा छौं । आर्थिक स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर खोजिरहेका छौं । अब नगरपालिकाले एक घर एक धारो बनाउँछन् उपप्रमुख खरेलले बताइन् । साभारः कारोबार दैनिकबाट

