
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् ।
मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे । यस्तै डा। शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको छ । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।
०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उनलाई पहिलो चरणमा ८ मत पुगेको थिए । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिएका थिए ।
यो पटक पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै बनेको थियो ।

