कांग्रेसको महाधिवेशन कार्यतालिका सातौँपटक परिवर्तन

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७८

काठमाडौं कार्तिक ११ । अवरुद्ध अधिवेशन प्रक्रिया २७ कात्तिकबाट सुरु, केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरसम्म कांग्रेसले सातौँपटक महाधिवेशन कार्यतालिका परिवर्तन गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले बैठकले १४औँ महाधिवेशनअन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने गरी कार्यतालिका तयार पारेको हो ।

तयार भएको कार्यतालिकाअनुसार यसअघि अवरुद्ध अधिवेशन प्रक्रिया २७ कात्तिकबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरसम्म गर्ने तय भएको छ । यसअघि ९ देखि १३ मंसिरसम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका थियो । निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले केन्द्रीय निर्वाचन समितिले महाधिवेशन कार्यतालिका संशोधनको प्रस्ताव गरेको जानकारी दिए । उनले बिहीबार निर्णय गरेर कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए । ‘समितिका पाँचमध्ये चार सदस्यको उपस्थितिमा कार्यतालिका तयार भएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन समितिलाई महाधिवेशनको पूर्ण जिम्मेवारी दिइएकाले समितिले निर्णय गर्ने या केन्द्रीय समितिमार्फत अनुमोदन गर्ने भन्ने बिहीबार निर्णय लिनेछौँ ।’

निर्वाचन समितिले मंगलबार कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको छलफलपछि कार्यतालिका तयार गरेको हो । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले तिहार र छठ पर्वका कारण अधिवेशन लगातार गर्न सम्भव नहुने भएपछि छठपछि सुरु गर्न लागिएको जानकारी दिए । ‘पछिल्लो समयको बेमौसमी वर्षाका कारण तराईसहितका विभिन्न जिल्ला प्रभावित बनेका छन्,’ उनले भने, ‘लगत्तै तिहार र छठ पनि आउँदै छ, जसकारण अधिवेशन प्रक्रिया लगातार हुन सम्भव छैन । छठपछि नयाँ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढाउन लागिएको हो ।’ नयाँ पत्रिकामा खवर छ ।

x