
धादिङ साउन १८ । धादिङको रुवीभ्याली गाउँपालिकाले साउन २० गते आयोजित गाउँपरिषदका लागि काठमाडौमा रहेका जनप्रतिनीधि र स्थानीय नेताहरुलाई धमाधम हेलिकप्टरबाट ओसार्न सुरु गरेको छ ।
असार १० गते अघि नै गर्नु पर्ने गाउँ परिषद विवादका कारण हुन नसकेपछि असार २८ गतेलाई सारिएको थियो । उक्त दिन पनि हुन नसेकपछि साउन २० गतेका लागि सारिएको गाउँ परिषदका लागि गाउँपालिकाले काठमाडौमा रहेका जनप्रतिनीधि, कर्मचारी र स्थानीय नेताहरुलाई धमाधम हेलिकप्टरबाट सेर्तुङ ओसार्न थालेको हो ।
हिजो आईतबार नै गाउँपालिका प्रमुख, उप प्रमुख, प्रमुख प्रकाशकिय अधिकृत हेलिकप्टरबाट सेतुङ पुगेका छन् भने आज वडा अध्यक्ष, सदस्य कर्मचारीहरु हेलिकप्टरबाट सेर्तुङ पुगेका छन् । यस्तै भोलि अर्थात मंगलबार स्थानीय दलका नेताहरु गाउँपालिका कै खर्चमा हेलिकप्टर मार्फत सेर्तुङ पुग्ने कार्यक्रम रहेको स्रोतले धादिङपोष्टलाई जानकारी दियो ।
हेलिकप्टर चडेर सेर्तुङ पुग्नका लागि कतिपय जनप्रतिनीधि र कर्मचारीहरु धादिङबेसी देखि काठमाडौं पुगेका थिए । असार १० र २८ गते विवादका कारण हुन नसकेको गाउँपरिषदका यो हेलिकप्टर काण्डले मिलाउने एक जनप्रतिनीधिले बताए ।
चालु आर्थिक वर्ष २०७८/७९ मा देशभरका ५१ वटा स्थानीय तहले समयमै बजेट ल्याउन र सभाबाट पास गर्न सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ मध्ये ५१ वटा स्थानीय तहले १ साउनदेखि नयाँ आर्थिक वर्ष लाग्नु अगावै बजेट पास गर्न नसकेका हुन् । यसमा धादिङको रुवीभ्याली पनि पर्छ ।
