
महिन्दो वाईवा
बेल्जियम साउन २ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद बेल्जियमको आसन्न निर्वाचनमा धादिङका कासी दनैले उपाध्यक्षमा र रमेश कंडेलले महासचिवमा उमेदवारी दिएका छन् ।
गैर आवासीय नेपाली संघ बेल्जियमको यही जुलाई १८ तारिखमा अधिवेशन र जुलाई २५ तारिखमा निर्वाचन हुन गईरहेको छ ।
संघको नयाँ कार्यसमिती चयन गर्नको लागि हुने आगामी निर्वाचनमा हुने विभिन्न पदको लागि कुल ३६ जनाको उमेदवारी परेको छ । एउटै पदको लागि धेरै उमेदवारहरु हुँदा सहमती हुनु भन्दा पनि निर्वाचन हुने निश्चित प्रायः देखिएको छ ।
पटक पटकको छलफल र वार्ता हुँदा पनि आज सम्म सहमती हुने सम्भावना देखिएको छैन । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा यो पटक नयाँ तथा पुराना गरी २१६२ जनाले मात्रा पंजिकृत सदस्यता लिएका छन् ।
यो सदस्य संख्या बेल्जियममा बस्ने आम नेपाली समुदायको आधी भन्दा पनि कम हो । यो पटक गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा सदस्यता लिनेहरुको संख्यामा कमी देखीएता पनि नेतृत्वमा रहन चाहने युवा पुस्ताको संख्यामा भने बृद्धि भएको देख्न सकिन्छ ।
सामाजिक अभियानको बाटोमा अघिल्लो पुस्ता संगै मिस्सिएर केही सिक्दै र केही सिकाउदै काम गर्न चाहने युवाहरुको आगमनले एनआरएनको अभियानलाई थप मद्दत पुग्ने अनुमान गर्न सकिन्छ ।
यिनै युवाहरु मध्य युवा पुस्ताको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियममा देखिएका छन् कासी दनै ।
को हुन त कासी दनै ?

ज्वालामुखी गाउँपालिका चैनपुर, धादिङ स्थायी घर भई सन २००४ देखी बेल्जियम बस्दै आउनु भएका कासी दनै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको आगामी कार्यकालका लागि उपाध्यक्ष पदका उम्मेदवार हुन् । उनी वर्तमान कार्यसमितीमा युवा संयोजकको भूमिकामा रहेका छन् । बेल्जियम प्रवेस सँगै एनआरएनएको अभियानलाई नियाली रहेका दनै भर्खरै मात्र ३५ औ बशन्त टेक्दै छन् । तर उनको कर्म भने उदाहरणिय छ । हरेक जसो नेपाली समुदाय लक्षित कार्यक्रमहरुमा सक्रिय भइै लागिरहने दनै बेल्जियमको नेपाली समुदाय माझ एक सफल युवा ब्यवसायी र सामाजिक सेवामा तल्लिन युवाको रुपमा समेत परिचित छन् ।
बेल्जियमको अन्त्रोपेन शहरमा सपरिवार बसोबास गरिरहेका दनैले लकडाउनका समयमा आफूलाई निस्वार्थी सामाजिक अभियन्ताका रुपमा प्रमाणित गरेर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गरेका थिए । उनले नेपाली युवाहरुको खेलकुदको विकास गर्नमा र कोरानाले गर्दा संकटमा परेका नेपाली समुदायलाई राहत वितरण गर्दै आएका छन् ।
कलिलै उमेरमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका उनले अन्य कयौं संघसंस्थामा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । हाल उनी नेपाल ब्यबसायी संघ बेल्जियमको कोषाध्यक्षको रुपमा कार्यरत छन् ।
युवा वर्ग, खेलकुद, ब्यबसायीहरुलाई विभिन्न योजनाबद्ध प्रोजेक्टको विस्तार तथा सामुहिक पहल गर्ने प्रतिबद्धता उनले गरेका छन् । संस्थाको पद त केवल प्लेटफर्म मात्र हो । त्यसैलाई उपयोग गरेर जति सकिन्छ, कामै गरेर देखाउने हो ।’ भन्ने बिचार भएका दनै उपाध्यक्ष पद्का प्रमुख दावेदार हुन् ।
को हुन त रमेश कंडेल ?

धादिङ मलेखु स्थाई घर भएका रमेश कंडेल गैर आवासीय नेपाली संघ बेल्जियमको आसन्न निर्वाचनमा महासचिव पदका बलिया उमेदवार हुन् । उनी विगत २ दशक देखि बेल्जियम बस्दै आईरहेका छन् । विभिन्न संघ संस्था मार्फत सामाजिक काम गर्नमा सकृय कंडेल आफुलाई सामाजसेवी भन्न रुचाउँछन् ।
बेल्जियम बसाइैका सुरुवातका दिनहरुमा आफुजस्तै दुःख पाएकाहरुको लागि संगठित रुपमा सहयोग गर्न हिमालय सोसाईटी नामक संस्था खोलेर समाजिक काम गर्न थालेको उनी सम्झन्छन् । हाल उनी बेल्जियमको ब्रुज शहरमा आफ्नै ब्यवसाय संचालन गरी बसेका छन् । नेपाली समुदायको सेवा गर्न र युवाहरुलाई प्रेरित गर्नको लागि आफु एनआरएनको अभियानमा लागेको उनले बताए ।
धादिङ समाज बेल्जियमको पूर्ण समर्थन र समकालिन साथीभाई, शुभ चिन्तकहरु र युवाहरुको आफुलाई समर्थन रहेकोले आफु यो निर्वाचनमा विजयी हुनेमा ढुक्क रहेको उनले बताए ।
