
धादिङ फागुन १५ । धादिङको फुटबल इतिहासमा पहिलो पटक धादिङ समाज धादिङले जिल्लाको प्रतिनीधित्व गरि बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिता जितेको अवसरमा धादिङबेसीमा खेलाडीहरुलाई सम्मान गरिएको छ ।

नुवाकोटबाट आज धादिङबेसी फर्किएको खेलाडी टोलीलाई सहभागि गराई धादिङबेसीमा विजयी र्याली समेत गरिएको छ । धादिङबेसी पुछारबजारबाट सुरुभएको विजयी र्याली धादिङबेसी पुछारबजार, शान्तबजार, सुगमटोल, पहरे चौतारा, सितलबजार हुँदै पुन बीचबजार आई एक कार्यक्रमका बीच खेलाडीलाई सम्मन गरिएको हो ।

उक्त सम्मान कार्यक्रमको आयोजना बीचबजार टोल सुधार समितिले गरेको थियो । टोलसुधार समितिले आफ्नो दास्रो वार्षिक साधारण सभाको अवसरमा खेलाडीहरुलाई बीचबजार चोकमा सम्मान गरेको हो ।
