कक्षा १२ को नतिजा अर्को साता

Avatar photo
Dhadingpost
माघ २, २०७७

काठमाडौं माघ २ । कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने भएको छ । यस वर्ष नतिजा प्रकाशनमा ढिलाइ भए पनि अबको १० दिनभित्र सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बिहीबार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अबको १० दिनभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । विद्यार्थीको नम्बर इन्ट्रीको काम सकिएको र अहिले रुजु चलिरहेको उनले बताए । ‘अहिलेसम्म ४० प्रतिशत रुजुको काम पनि सकिएको छ,’ अध्यक्ष प्रा.डा. पौडेलले भने ।

केही विद्यालयले ‘माक्स फाइल’ व्यवस्थित नबनाएको, उत्तरपुस्तिका क्रमशः नराखेको, एउटा विषयको उत्तरपुस्तिका अर्को विषयमा राखेर पठाएकोलगायत कारण नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ । यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । कतिपय विद्यालयका शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा समेत तोकिएभन्दा बढी नम्बर पठाएका छन् ।

परीक्षा बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम दिएको थियो । तैपनि केन्द्राध्यक्षले भद्रगोल तरिकाले परीक्षाका काम गरेको पाइएको प्रा.डा. पौडेलको भनाइ छ । ‘वेबसाइटमा राखिदिएको फाइल डाउनलोड गरेर सिम्बोल नम्बरअनुसार माक्स चढाएको भए सहज हुने थियो, अभिमुखीकरण गरेर पनि त्यसअनुसार गरेनन्,’ उनले भने, ‘कार्यविधि पढेर त्यसअनुसारको काम पनि गरेको पाइएन ।’

बोर्डले पुस मध्यतिर नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, यी सबै समस्याका कारण दुई हप्ता पछि धकेलिएको अध्यक्ष प्रा.डा. पौडेलले बताए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी तय गरेको परीक्षा कोभिडका कारण ९ मंसिरबाट कक्षा १२ को परीक्षा सुरु भएको थियो ।

यस वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको हो । त्यस्तै, ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधार लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ । सबै परीक्षार्थीलाई होम सेन्टर हुने गरी चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कक्षा १२ को परीक्षामा चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी हुन आवेदन गरेका थिए । नयाँ पत्रिकामा खवर छ ।

x