
काठमाडौं पुस १४ । एक सय १० जना सांसद रहेको बागमती प्रदेश सभामा नेकपा ८० (प्रचण्ड–नेपाल समूह ४६, ओली समूह ३४), कांग्रेस २२, विवेकशील साझा ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र १ सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि ५६ मतको आवश्वकता पर्नेछ ।
पूर्वएमाले एक्लैको ५८ मत रहेको बागमतीमा तत्कालीन संसदीय दलको निर्वाचनमा पौडेलले ३४ र शाक्यले २४ मत पाएका थिए । पूर्वएमाले संसदीय दलको निर्वाचनमा पौडेलले पाएको ३४ मत ओली पक्षको हो भने, शाक्यले नेपाल समूहको २४ मत पाएकी थिइन् ।
पूर्वएमाले र पूर्वमाओवादी एकतापछि नेकपा बनेसँगै संसदीय दलमा ८० मत छ ।अहिले नेकपाभित्र केन्द्रीय तहमा फुट आएपछि प्रचण्ड–नेपाल र ओली पक्षमा विभाजित हुँदा प्रचण्ड–नेपाल समूह बलियो देखिन्छ । तर, नयाँ सरकार गठनका लागि दुवै पक्षसँग बहुमत छैन । त्यसकारण, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँगको सत्ता समीकरण दवै पक्षका लागि अनिवार्य छ । २२ सांसद रहेको कांग्रेसको हातमा नयाँ सरकार गठनको साँचो रहेको हुँदा अहिले नेकपाका दुवै पक्ष कांग्रेससँग आन्तरिक छलफलमा जुटेका छन् ।
नयाँ सरकार गठनका लागि ओली पक्षलाई २२ र प्रचण्ड–नेपाल पक्षलाई १० मत आवश्यक छ । प्रचण्ड–नेपाल पक्षका लागि साना दल सबैलाई मिलाउँदा २ मत अभाव हुनेछ भने ओली पक्षका लागि साना दल समेट्दा मत पुग्ने सम्भावना छैन ।
अविश्वासको प्रस्तावमै मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्ताव गरेको प्रचण्ड–नेपाल समूह कांग्रेसलाई मुख्मन्त्री दिन तयार छैन । उता ओली समूहका वर्तमान मुख्यमन्त्री पौडेलले आफ्नो पक्षमा समेटिएर अघि बढ्न कांग्रेसलाई आग्रह गरिरहेका छन् । पौडेलले आफ्नो सत्ता टिकाउनका लागि पनि निरन्तर कांग्रेससँग अनौपचारिक संवाद गरिरहेका छन् । कांग्रेस नयाँ सरकार गठन गर्न होस् वा अहिलेको सरकार टिकाउन निर्णायक हुने निश्चित छ । नयाँ पत्रिकामा खवर छ ।

