
काठमाडौं पुस ११ । नेपाली काँग्रेसका सभापति देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा नबोल्न निर्देशन दिएका छन् । देशभर विरोध प्रदर्शन गर्न लागेको कांग्रेसले प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डालाई प्राथमिकता नदिने संकेत दिएको छ ।
सभापति देउवाले पार्टीले आधिकारिक रूपमा प्रतिनिधिसभाको पुनर्स्थापना विषयमा कुनै धारणा नराख्ने स्पष्ट पारेका छन् । अदालतको निचोडपछि मात्रै पार्टीले रणनीति बनाउन सक्ने भन्दै अदालतको फैसला कुर्नुपर्ने उनको भनाइ छ ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा सभापति देउवाले विरोधका क्रममा पार्टीले सरकारको असंवैधानिक कदमको विरोध गर्ने, तर प्रतिनिधिसभा पुनस्र्थापनाको माग नगर्ने स्पष्ट पारे ।
‘त्यो विषय अदालतले भन्छ, अहिले त्यसबारेमा कुरा नगरौँ,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले एजेन्डा स्पष्ट हुनुपर्ने माग राखेपछि देउवाले जवाफ दिएका थिए ।
विरोधका क्रममा प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डा उठाउने या नउठाउने भन्नेमा नेताहरूबीच भनाभन भएको थियो ।
नयाँ पत्रिकाले खवर लेखेको छ, ‘विरोध कार्यक्रममा जाँदा पार्टीको बटमलाइन एउटै हुनुपर्यो, प्रतिनिधिसभा विघटन असंवैधानिक हो भने पुनस्र्थापना हुनुपर्छ पनि भन्नु त पर्यो, मोही माग्ने ढुंग्रो लुकाउने काम नगरौँ,’ पौडेलको भनाइ थियो, ‘प्रतिनिधिसभा विघटन गर्ने कुरा असंवैधानिक कदम हो, ०५१ मा गिरिजाबाबुले विघटन गर्दा पनि गणेशजी र किसुनजीले पुनस्र्थापनाको माग गर्नुभो, ०५२ मा मनमोहनले विघटन गर्दा पनि पुनस्र्थापनाको कुरा उठाइयो, पुनस्र्थापनासमेत भयो । ०५९ मा सभापतिजीले आफैँ गर्नुभयो, पछि ०६२र६३ को जनआन्दोलनले पुनर्स्थापना गरेको हो । हाम्रोजस्तो लोकतान्त्रिक पार्टीले संसद् पुनस्र्थापनाको माग किन नगर्ने रु’ सरकारको कदम असंवैधानिक भनिसकेपछि त्यो कदम सच्याउन माग गर्नुपर्ने पौडेलको अडान थियो ।
देउवानिकट केन्द्रीय सदस्य लेखकले अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा पुनस्र्थापनाको विषयमा धेरै छलफल र विरोध गर्न आवश्यक नरहेको धारणा राखेका थिए । ‘यो कार्य असंवैधानिक हो र मुद्दा अहिले अदालतमा पुगेको छ, अदालतले दिएको निचोड हामी लोकतान्त्रिक पार्टीले स्विकार्नुपर्छ,’ लेखकले भनेका थिए, ‘विश्वास गरौँ, अदालतले पनि असंवैधानिक भएको ठहर गर्छ ।’
उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेको अवस्थामा चुनावको विकल्प सबैभन्दा उपयुक्त भएको धारणा राखे । ‘ताजा जनादेश लिने कुरा राम्रो हो, त्यसको स्वागत गरौँ, तर चुनावको सुनिश्चितताका विषयमा सोच्नुपर्ने हुन्छ,’ उनले भनेका थिए, ‘चुनाव जहिले भए पनि अहिलेदेखि संगठनलाई मजबुत बनाउनुपर्छ ।’
लेखकले प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा नउठाउने भनेपछि उनले बोलिनसक्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नियमापत्ति जनाएका थिए । ‘तपाईं सभापतिजीको लाइन लिएर त्यस्तो कुरा नगर्नुस्,’ लेखकले बोल्दै गर्दा पौडेलले भनेका थिए । पार्टीमा संस्थापनविरुद्ध एजेन्डैपिच्छे मतान्तर हुन थालेपछि शुक्रबारको बैठकमा पौडेल निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

