
काठमाडौं पुस १० । अध्यक्ष प्रचण्ड र नेपालबीच पार्टी विधानअनुसार बैठकको अध्यक्षता गर्दै पार्टी सञ्चालन गर्ने सहमति भएको छ । यसबारे ७ पुसको बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराइसकेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
‘अध्यक्ष प्रचण्डले पार्टी विधानको प्रस्ट पालना गर्ने गरी दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने र वरीयता पनि बैठकको अध्यक्षताका आधारमा हुने सहमति भइसकेको अघिल्लो बैठकमै जानकारी गराइसक्नुभएको छ,’ रिजालले भने । जसअनुसार बैठक अध्यक्षता गर्ने अध्यक्ष पहिलो वरीयतामा हुनेछन् भने अर्को अध्यक्ष दोस्रो वरीयतामा हुनेछन् ।
दोस्रोपटकको बैठकको अध्यक्षता फेरिनेबित्तिकै अर्को अध्यक्ष पहिलो वरीयतामा हुनेछन् । जसअनुसार प्रचण्ड–नेपाल नेकपामा कहिले माधव नेपाल त कहिले प्रचण्ड पहिलो वरीयताको अध्यक्ष बन्ने समझदारी भएको छ ।
७ पुसको बैठकको अध्यक्षता प्रचण्डले गरेको र बिहीबार त्यसैको निरन्तरताका रूपमा बैठक बसेकाले यो बैठकमा नेपाल दोस्रो वरीयतामा बसेका छन् । बैठकको सुरुवात नेपालले र समापन प्रचण्डले गरेका थिए भने सञ्चालन प्रवक्ता श्रेष्ठले गरेका थिए । नयाँ पत्रिकामा खवर छ ।

