गजुरीमा चेपाङ किशोरीका लागि छात्राबास बन्ने

Avatar photo
Dhadingpost
पुस २, २०७७

धादिङ पुस २ । दक्षिणी धादिङको गजुरीमा सिमान्तकृत चेपाङ समुदायका किशोरीका शिक्षा दिक्षामा सहयोग पुर्‍याउनको लागि सुविधा सम्पन्न छात्राबास बन्ने भएको छ। गजुरी गाउँपालिका वडा नं १ को हाँगेटारमा चेपाङ किशोरीहरुको लागि निर्माण गर्न लागेको आवासीय चेपाङ छात्राबास भवनको शिलान्यास गरिएको छ।

जिल्ला समन्वय समिति, गजुरी गाउँपालिका र नेपाल चेपाङ संघ धादिङको समन्वयमा प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा चेपाङ छात्रावास बनाउन लागेको हो।

यो पनि
गजुरी हाँगेटारमा चेपाङ किशोरीका लागि छात्राबास भवन निमार्ण सुरु

३० जना क्षमताको छात्रावास निर्माणपछि पढाइमा जेहेन्दार किशोरीहरु निशुल्क आवासीय सुविधासहित उच्च शिक्षा अध्ययन गर्नको लागि बस्न पाउने छन्। नेपाल चेपाङ संघका सचिव कृष्णबहादुर चेपाङले भने, ‘यसअघि पनि विभिन्न संघ सस्थाको सहयोगमा चेपाङ किशोरीहरुले छात्रवृति पाउने गरेका थिए तर यो आवासीय छात्रावास बनेपछि यहीं बसेर उच्च शिक्षा अध्ययन गर्न पाउनेछन्। छात्रावासको निर्माणमा शिक्षा क्षेत्रमा पछि परेको चेपाङ समुदायमा अलिकति उकासिने छ।’

साढे ४ रोपनी क्षेत्रफलमा बन्न लागेको छात्राबास भवनमा भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पाले घर सहितको लागत १ करोड १५ लाख अनुमान गरिएको छ।

दक्षिणी धादिङको महाभारत पर्वत श्रृंखलामा सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको छ। विकट क्षेत्रमा उच्च शिक्षा हाँसिल गर्न आउँदा हुने बसाइ ब्यवस्थापन सहज बनाउन, चेपाङ किशोरीहरुको शैक्षिक विकासमा सहयोग पुर्याउनको लागि सहकार्य गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए। उनले भने, ‘चेपाङ समुदायको मुख्य समस्या भनेकै शिक्षामा पहुँच नहुनु हो, त्यसलाई सहयोग पुर्याउनको लागि गाउँपालिकासँगको समन्वयमा छात्रावास बनाउन लाग्दै छौँ।’

२०७८ जेठ मसान्तसम्ममा निर्माण सक्ने लक्ष्य राखिएको निर्माण कम्पनी जी.ए बिल्र्डस् प्रतिनिधि गोबिन्दराज रेग्मीले बताए। छात्राबास भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले छात्रावास ले चेपाङ किशोरीको शैक्षिक विकासमा उल्लेख्य सुधार ल्याउने विश्वास ब्यक्त गरे। छात्रावास बनाउनु मात्र ठुलो कुरा नभएको बताउँदै संयोजक नेपालले छात्रावासलाई व्यवस्थित तवरले संचालन गराउनको लागि चेपाङ संघ र गजुरी गाउँपालिकाको ध्यानाकर्षण गराए।

गजुरी गाउँपालिकाले उत्कृष्ट, मेहनती र जेहेन्दार चेपाङ समुदायको शिक्षा दिक्षाको प्रवन्ध गराउन हरेक वर्ष ७ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ।
भौगोलिक रुपले विकट स्थानबाट उच्च शिक्षाको लागि आएका चेपाङ किशोरीहरुको शिक्षामा सहयोगको लागि विकास साझेदारहरुसँगको समन्वय तथा सहकार्यमा निर्मित छात्राबास भवनको सही प्रयोग तथा व्यवस्थापन गर्ने गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले प्रतिबद्धता जनाए। उनले भने, ‘गैर सरकारी संस्थासँगको सहकार्यमा छात्रावास बनाउँदै छौँ, यसको संचालन र व्यवस्थानपनको जिम्मा गाउँपाकिाले लिनेछ।’ अन्नपूर्णपोष्टमा मनिश दुवाडीले समाचार लेख्नु भएको छ ।

x