धादिङमा मजदुरको ट्रिपर र्याली, त्रिशुलीबाट बालुवा झिक्न दिनु पर्ने माग

Avatar photo
Dhadingpost
साउन २५, २०७७

धादिङ साउन २५ । कि राहात दे, कि गरी खान दे, भन्ने नारा सहित धादिङको राजमार्ग क्षेत्रका ढुङ्गा, गिटी, बालुवामा काम गर्ने मजदुरहरु ट्रिपर र्याली गर्दै जिल्ला प्रशासन आएर ज्ञापन पत्र बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले साउन १६ गतेबाट त्रिशुली नदीबाट नदी जन्य सामाग्री निकाल्न बन्द गरे सँगै, मजदुरहरु कोरोना भाईरसबाट जोगिन अवलम्बन गर्नु पर्ने सामान्य मापदण्ड पनि ख्यालनगरि ट्रिपर र्याली गर्दै ज्ञापन पत्र बुझाउन सदरमुकाम आएका हुन् ।

११ वटा ट्रिपरमा आएका २ सय भन्दा बढी मजदुरहरुले जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउँदै त्रिशुलीमा बालुवा झिक्न दिनु पर्ने माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रका भनिएको छ, रोजी रोटी गुम्यो, अन्य जागिर छैन, विहान बेलुकाको छाक बस्यो त्रिशुली नदीमा यो वर्षादको ३ महिना बालुवा झिकी वर्ष दिन गुजार गर्नु पर्छ त्यसैले बालुवा झिक्न दिनु पर्ने माग गरेका छन् ।