खुमलटारमा प्रचण्डको ‘स्पष्टिकरण’

Avatar photo
Dhadingpost
साउन ५, २०७७

काठमाडौं साउन ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दर्जनौ पटक छलफल भए।

अध्यक्षद्वयको मात्र छलफल भनिए पनि कि त सुरुमा कि त अन्त्यमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पुगेकै हुन्छन्। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक दुई दिनपछि सरेपछि अध्यक्षद्वयले बालुवाटारमा छलफल गरे।

बालुवाटार स्रोतका अनुसार करिब तीन घण्टासम्म चलेको छलफलमा महासचिव पौडेल र नेता शर्मासमेत सहभागी थिए। तत्कालीन नेकपा (एमाले) र माओवादीबीच एकता प्रक्रियादेखि नै नेता पौडेल र शर्मा निर्णायक वार्तामा साक्षी बन्दै आएका छन्। यस पटकको विवाद समाधानका लागि भएका प्रयासमा अध्यक्षद्वयसँगै पौडेल र शर्माको व्यस्तता बढेको छ।

शनिबारको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारे लगत्तै सहमति जनाएको भन्दै माधव नेपाल समूहका नेताले प्रचण्डसँग आपत्ति जनाएपछि आइतबार दिउँसो प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका हुन्। नेपाल गुटका नेतालाई आइतबार बिहान मात्र प्रचण्डले करिब डेढ घण्टा स्पष्टिकरण दिएकाा थिए।

बालुवाटार छलफलमा पार्टी विवाद समाधानकै विकल्पको खोजी भएको स्रोतको दाबी छ। नेताहरुले छलफलबारे औपचारिक जानकारी भने नेताहरुले दिएका छैनन्।

आइतबार बिहान खुमलटारमा माधव नेपाल गुटका नेतालाई स्पष्टिकरण दिँदै प्रचण्डले शीतल निवासमै प्रधानमन्त्रीले बोलाएकाले गएको प्रष्ट पारेका थिए। सचिवालय बैठक लगत्तै दुई अध्यक्षबीच भेट्ने कुरा भएको र प्रधानमन्त्रीले शीतल निवास बोलाएपछि उतै गएको प्रचण्डको भनाइ छ। शीतल निवास भेटघाटमा नेता पौडेल र शर्मासमेत पुगेका थिए।

खुमलटारमा प्रचण्डको स्पष्टिकरण
शनिबारको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन भनेर आएको प्रस्तावलाई छलफलमा ल्याऔं भनेर मात्र विरोध स्पष्टिकरण नेपाल समूहलाई प्रचण्डले दिएका छन्। नेताहरुले दुई अध्यक्षबीच केही सहमति भएपछि यो प्रस्ताव आएको शंका गरेपछि प्रचण्डले त्यस्तो केही सहमति नभएको स्पष्टिकरणसमेत दिए। उनले राष्ट्रपति कार्यालयको भेट अचानक भएकोसमेत प्रष्ट पारेका छन्। शीतल निवास छलफलबारे प्रचण्डले आफूलाई परिबन्धमा पारेको भन्दै उल्टै नेताहरुसँग गुनासोसमेत गरेका छन्। आइतबारको खुमलटार बैठकमा प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ, भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मातृका यावद लगायत नेता सहभागी थिए।

अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई छलफलमा बोलाइए पनि महत्वपूर्ण काममा व्यस्त भएकाले उपस्थित हुन नसकेको जानकारी गराएका थिए। अन्नपुर्णपोष्टले खवर प्रकाशित गरेको छ ।

x