दुई अध्यक्ष मिल्नबित्तिकै सबै मिल्छ भन्ने भ्रमबाट मुक्त हुनुस्, म देशव्यापी अभियानमा जान्छु -नेपाल

Avatar photo
Dhadingpost
साउन ४, २०७७

काठमाडौं साउन ४ । महाधिवेशन मंसिरमै कसरी सम्भव हुन्छ ? यति छिटै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने हो भने बैठकबाट, अरू फोरम वा राष्ट्रिय सम्मेलनबाट किन नगर्ने ? अहिलेको सवाल नेतृत्वमा व्यक्ति परिवर्तनको मात्रै होइन, पार्टीलाई, सरकारलाई कसरी विधि र प्रक्रियामा चलाउने भन्ने हो ।

दुई अध्यक्ष मिल्नेबित्तिकै सबै मिलिहाल्छ भन्ने भ्रमबाट मुक्त हुनुस्, म मान्नेवाला छैन । दुई अध्यक्षको मात्र चोचोमोचो मिल्दैमा सबैथोक मिल्छ भन्ने भ्रमबाट मुक्त हुनुस् । यो पार्टीलाई विधि र प्रक्रियासँग, कार्यशैलीसँग, कम्युनिस्ट संस्कृतिसँग जोड्ने प्रश्न हो । कस्तो पार्टी बनाउने भन्ने विषय हो । यी सबै विषयलाई सम्बोधन गर्ने गरी एकताको समग्र प्याकेज ल्याउनुस्, त्यसपछि बल्ल छलफल गर्न सकिन्छ, अधुरो कुरा हुँदैन, मानिँदैन ।

तपाईं (केपी ओली)ले १७ वैशाखमा पनि त्यस्तै प्रस्ताव ल्याउनुभो, २० गते पार्टी सञ्चालनबारे निर्णय पनि भयो । त्यतिवेला तपाईंले भनेजस्तै अश्रुग्यासको क्षेप्यास्त्र हान्ने, हामी सबै बेहोस हुने, अनि ट्याँइँट्याँइँ फिस स्थिति यसपटक नहोस् ।

त्यसकारण अहिल्यै सबै प्याकेज नहेरीकन हावाको भरमा तपाईंहरूको प्रस्तावलाई समर्थन गर्न सकिँदैन । आइतबार स्थायी समिति बोलाइयोस्, त्यहाँ पनि छलफल होस् । होइन, तपाईंहरू मात्रै मिल्दा सबै कुरा हुने हो भने म पनि देशव्यापी अभियानमा जाने कुरामा सोच्दै छु । कसैले अहिलेसम्म पार्टीको निर्णय नमान्दा केही फरक नपर्ने हो भने अरूका निम्ति पनि मान्नुपर्ने बाध्यता छैन । पार्टीमा सबै बराबर हुन्, कोही विशेष होइन, यो कुरा दुवैले बुझिराख्नुस् । नयाँ पत्रिका दैनिकमा खवर प्रकाशित छ ।

x