
राष्ट्रको स्थायी सरकारको रुपमा मानिने निजामती प्रशासनको कार्यसम्पादन अपेक्षाकृत प्रभावकारी नभएको राजनीतिक, प्राज्ञिक र अन्य क्षेत्रका व्यक्ति एवं समुदायको धारणा रहेको छ । पूर्वाधार विकास र सार्वजनिक सेवा प्रवाहमा भएको ढिलासुस्ती, अनियमितता र अकर्मण्यता कमजोर कार्यसम्पादनका कारक हुन भन्न संकोच मान्नु नपर्ला ।
त्यसो त कर्मचारीहरुले कार्यसम्पादन गरेकै छैनन भन्ने बुझाई पनि ठीक होइन । त्यस्तै निजामती सेवा भित्र उच्च कार्यसम्पादन भएका कर्मचारीहरु नभएका पनि होइन । उनीहरुले गरेको कामको प्रत्येक आ.व.मा मासिक, चौमासिक बार्षिक रुपमा सरोकारवालासमेतको उपस्थितिमा कार्यसम्पादन समिक्षा वा मूल्यांकन हुने गरेको पाइन्छ । सरकार त्यसैलाई बजारीकरण गर्दै जनतामाझ जाने गरेको छ ।
कार्यसम्पादन गर्न स्रोत साधनको परिचालन गर्नुपर्दछ । त्यस्ता साधनहरु श्रम, सूचना, समय, भौतिक पूर्वाधार एवं संरचना र वित्तीय स्रोत पर्दछन । निर्जीव साधनलाई जीवन्त बनाई अधिकत्तम परिचालन गर्न मानव साधनको आवश्यकता पर्छ ।
मानव साधनले जहिलेपनि न्यून लागतमा उपयुक्त समयमा महत्तम प्रतिफल दिन सक्नु पर्छ । अर्थात श्रमको उपादकत्व बढाउनु पर्दछ । श्रमको प्रभावकारीता लाभ, लागत, गुणस्तर र समय आदिका आधारमा मापन गरिन्छ । निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० मा समेत कार्यसम्पादन मापनको मानकको रुपमा यिनै बिषयलाई आधार बनाइएको छ ।
निजामती कर्मचारीहरुको बार्षिक एवं अर्धबार्षिक रुपमा कार्यसम्पादन मूल्यांकन हुने गरेको छ । प्रायशः सबैको सत प्रतिशत नजिकको अंक एवं अतिउत्तम कार्यसम्पादन गरेको सुपरीवेक्षणको टिप्पणी रहेको देख्न र सुन्न पाइन्छ ।
व्यावहारत निजामती कर्मचारीको कार्यसम्पादन खस्कदै गएको आमनागरिकले गरेको गुनासो र विभिन्न सर्वेक्षणले दिएको नतिजाको आधारमा पुष्याँउने प्रयास गरिएको छ । पारदर्शी, वस्तुनिष्ठ, वैज्ञानिक कार्यसम्पादन मूल्याकंन प्रणालीले कर्मचारीमा अनुशासन, आचरण र नैतिकताको प्रवर्द्धन गर्न सघाउँछ ।उत्प्रेरणा र मनोबल बढाउँदछ ।
निजामती कर्मचारीको कार्य सम्पादन मापनयोग्य नहुनुका पछाडी धेरै कर्मचारीले आफ्नो कार्य विवरण प्राप्त गरेको हुदैन र कतिपयले लिन रुचाउँदैनन पनि । कार्यसम्पादनको लागि चाहिने अधिकार तथा दायित्वको समेत वोध हुँदैन ।
आकस्मिक रुपमा हुने सरुवा, कार्य गर्ने र नगर्ने बीच विभेद नहुँदा निजामती प्रशासनको कार्यसम्पादनस्तर कमजोर हुँदै गएको छ । दबाब, प्रभाव र अभावको बहाना बनाइ उम्कन खोज्ने त धेरै छन भने चाकडी र चाप्लुसीले यसलाई थप मलजल गरेको छ । कार्यसम्पादन मूल्यांकन राजनीतिक दल र उच्च प्रशासकबाट हुने हो नकी आफ्नो निकटतम सुपरीवेक्षकबाट भन्ने मनोवल बाक्लिदै छ ।
निजामती कर्मचारीको कार्यक्षेत्र नागरिकको जन्म देखि मृत्यु पर्यन्त जोडिएको छ । कतिपय कार्यहरुलाई सरल र सहज ढङ्गले समय, लागत, गुणस्तर र परिमाणको आधारमा विभाजन गरी कार्यसम्पादन मूल्यांकन गर्न कठिन भएतापनि अधिकांश कामहरुलाई वस्तुगत सूचकको आधारमा मापन गर्न सकिन्छ ।
एउटा सडक आयोजनाको आयोजना प्रमुखको कार्यसम्पादन मूल्यांकनलाई उसले बर्षभरीमा निर्माण एवं मर्मत गर्ने सडकहरुको लम्बाई, संख्या, गुणस्तरको आधारमा लक्ष्य तोकी मापन गर्न सकिन्छ । बार्षिक कार्यक्रम अनुसार १५ वटा पुलहरु निर्माण गर्नुपर्ने भएमा कम्तिमा ५ वटा पुलको विस्तृत इन्जिनियरिङ्ग सम्पन्न गर्ने, १० वटा पुल ठेक्कापट्ठा व्यवस्थापन कार्य सम्पन्न गर्ने, ५ वटा पुलको भौतिक प्रगति ५० प्रतिशत भन्दा माथि पुरयाउने र ५ वटा पुल पूर्णरुपमा सम्पन्न गर्ने गरी लक्ष्य तोकी कार्यसम्पादन मूल्यांकन गर्न सकिन्छ ।
निजको कार्यसम्पादनको स्तरलाई वृत्ति विकाससँग जोड्ने दरिलो व्यवस्था हुने हो भने आयोजना प्रमुख मन, बचन र कर्मले लक्ष्य पुरा गर्न तयार हुन्छ । त्यसको लागि तालुक निकाय र अन्य सहयोगी निकायहरुबाट प्राप्त हुने स्रोत, साधन, समन्वय र सहकार्यको सुनिश्चितता गरिनुपर्दछ ।
तोकिएको समयसम्म निजलाई कानून बमोजिमको कार्यमा स्वायतत्ता दिइनु पर्दछ । तोकिएको समय भित्र लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकेमा निजलाई समान पदमा यस प्ररकारको जिम्मेवारी नदिने वा तालिममार्फत क्षमता विकास गरी निश्चित अवधी पार गरेपछी दिने र कार्य सम्पादन राम्रो भएमा थप कार्यचाप, जोखिम र कार्य क्षेत्र भएको कार्यालयको जिम्मेवारी दिने एवं वृत्ति श्रृङ्गखलासँग आवद्धता गर्ने व्यवस्थाले निजलाई कामयावी बनाउँछ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन मूल्यांकनको आधारको रुपमा शान्ति सुरक्षा र व्यवस्था, सीमा सुरक्षा, नागरिकता वितरण, घुम्ति शिविर संचालन, अर्धन्यायिक निर्णय वा फैसला, राहदानी वितरण, गुनुसो सुनुवाई, भष्ट्राचार नियन्त्रण, अपराधको संख्यामा कटौती, उद्धार एवं राहत र सुशासनलाई कार्यसम्पादन मूल्यांकनको आधारको रुपमा लिन सकिन्छ ।
त्यस्तै वित्तीय व्यवस्थापन शाखामा कार्यरत कर्मचारीको कार्यसम्पादन मूल्यांकन संगठनको वित्तीय योजना बनाउने, आर्थिक कारोबारको लेखांकन, नियमित प्रतिवेदन, खरिद व्यवस्थापन, वित्तीय प्रगति, आन्तरिक नियन्त्रण, लेखापरीक्षण र लेखा परीक्षणबाट निस्केको बेरुजु र सोको फछ्यौट, समयमा बजेट निकासा र स्रोत व्यवस्थापन आदि बिषयलाई आधार बनाउन सकिन्छ ।
कार्यसम्पादन मूल्यांकनलाई प्रभावकारी र स्वीकार योग्य बनाउन कार्यालयले सम्पादन गर्ने कार्यलाई साना-साना एकाईहरुमा खण्डित गर्नुपर्छ । यथाशक्य कामलाई टुक्राउने, त्यसको लक्ष्य तोक्ने र आवश्यक स्रोत साधनको आवश्यकता र व्यवस्थापन सम्बन्धमा प्रत्येक कर्मचारीलाई स्वघोषणा गर्न दिनुपदर्छ ।
यसले कर्मचारलाई आफ्नो काम प्रति प्रतिवद्ध, उत्तरदायी र जवाफदेही बनाउछ । जसले गर्दा स्वच्छ प्रतिस्पर्धात्मक भावनाको विकास भई कार्यसम्पादनस्तरमा सुधार आउने छ । कर्मचारीहरुलाई आगतमा जती बढी स्वायत्तता दिइन्छ परिमाण, लागत, गुणस्तर र समयका आधारमा निर्गतमा त्यतिनै कस्न सकिन्छ ।
यसले कर्मचारीहरुलाई स्वच्छ प्रतिस्पर्धी बनाउँछ । यसको लागि योग्य, क्षमतावान र समूह कार्यमा जोड दिने सुपरीवेक्षक वा हाकिम चाहिन्छ । प्रत्येक कर्मचारीले आ.व.को पहिलो हप्तामा आफ्नो कामको लक्ष्य सहितको कार्यविवरण तयार गर्छ, मूल्यांकनका आधारहरु तयार गर्छ सोको लिखित सम्झौता सुपरीवेक्षकसँग गर्ने व्यवस्था गरिनुपदर्छ ।
सुपरीवेक्षकले समेत यसैलाई आधार बनाई मासिक, चौमासिक र बार्षिक रुपमा कार्यसम्पादन गर्दछन । यसैको आधारमा सुपरभाइजरले निर्देशन, नियन्त्रण र पृष्ठपोषण गर्नु पर्दछ । महिनाको पहिलो दिन उनीहरुले आफ्नो कार्य र प्रतिवद्धताको समिक्षा गर्ने र अनुभवको आदानप्रदान गर्ने व्यवस्थाले यसलाई अझ प्रभावकारी बनाउँछ ।
विद्यमान कार्यसम्पादन करार यसैको एउटा रुप हो । यसको लागि उपयुक्त ढाँचा सहितको कार्यविधी र कार्य सहिंताको आवश्यकता पदर्छ । कर्मचारीहरुको क्षमता विकासमा जोड दिनु पर्दछ । सूचना प्रविधीमा आधारित स्वचालित प्रणालीको विकास गर्न सके यस कार्यको वस्तुनिष्ठता र विश्वासनियतालाई उचोँ बनाउछ । यसले निजामती प्रशासनलाई हाकिमीशैली, ढिलासुस्ती र भष्ट्राचार जस्ता विरामबाट मुक्त गराउन मद्दत गर्छ ।
कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्थापकले कार्यसम्पादनलाई कर्मचारीको वृत्तिविकास, अध्ययन, अवलोकन भ्रमण, अतिरिक्त सुविधा जस्ता सकरात्मक उत्प्रेरणासँग आवद्ध गर्नु पदर्छ भने ढिलासुस्ती गर्ने कामचोर प्रवृत्तिलाई निरुत्साहित गर्न सक्नुपर्छ ।
राजनीतिज्ञ र उच्च प्रशासकले समेत देशको विकास र समृद्धिसँग जोडिएका विकास आयोजना वा उच्च प्रोफाइलका जिल्लामा रहेर कार्य गर्न चाहने कर्मचारीसँग कार्यसम्पादन करार गरी सरुवा, बढुवा लगायतका वृत्तिविकासमा कार्यसम्पादन मूल्यांकनको स्तरलाई एक मात्र आधार बनाइनुपर्छ ।
तोकिएको समय भित्र प्रतिवद्धता अनुसार कार्य नगर्ने वा गर्न नसक्ने कर्मचारीको वृत्तिविकास रोक्ने, सोही पदमा पुन समान किसिमको अवसर नदिने, अप्रसाङ्गिक अध्ययन अवलोकन भ्रमणबाट बन्चित गर्ने व्यवस्था हुने हो भने अहिलेको विकासे र आर्थिक कारोबार बढी हुने अड्डाहरुमा जान कर्मचारीवृत्तमा हुने झालजेल असाध्यै कम हुने देखिन्छ ।
अतः कर्मचारीको कार्यसम्पादनलाई मापनयोग्य बनाउन कार्यलाई सकेसम्म सरलीकरण एवं खण्डिकरण गर्नुपर्दछ । कार्य विशिष्टिकरणमा जोड दिइनु पर्दछ । कर्मचारीहरुलाई कार्यम्पादन सूचक, लक्ष्य समेत तोक्न लगाई जिम्मेवार र जवाफदेही बनाइनु पदर्छ ।
आफ्नो कामको मूल्यांकन आफै गर्ने परिपाटिले कर्मचारीहरु प्रतिस्पर्धी हुने र स्वमूल्यांकन प्रणाली प्रति विश्वास बढ्दै जान्छ । कर्मचारीहरुले हाकिमको भन्दा कामको चाकडी गर्न थाल्दछन ।संगठनको कार्यक्षमता र प्रभावकारीतामा अभिवृद्धि हुन्छ ।
यसले समग्र निजामती प्रशासनको छविमा निखारता ल्याउछ । आश र त्राशको आधारमा कार्यसम्पादन मूल्यांकन अंक बढाउने र घटाउने परिपाटिको अन्त्य हुन्छ । व्यक्तिको क्षमता र कार्यम्पादनस्तरमा आउने सुधारले नै देश र समग्र नागरिकको जीवन समृद्ध बनाउछ भन्ने सन्देश प्रवाह हुन्छ । (लेखक: सुयल लेखा अधिकृत हुन् ।)
email : grsuyal@gmail.com