अब प्रहरीले जागिर छाड्न श्रीमती साक्षी राख्नु पर्ने

Avatar photo
Dhadingpost
फाल्गुन ५, २०७६

काठमाडौं फागुन ५ । अब प्रहरीमा काम गर्दागर्दै राजीनामा दिन चाहने व्यक्तिले श्रीमतीलाई साक्षी राख्नुपर्ने भएको छ । राजीनामा दिनेक्रममा स्वीकृतिसहित स्वयं श्रीमतीलाई उपस्थित गराउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा जाँदा राम्रो कमाई हुने भएपछि केही बर्षदेखि सुरक्षाअंगमा कार्यरत युवाहरुले धमाधम जागिर छाड्दा राज्यले उनीहरुलाई तालिम दिन र जागिरको बन्दोवस्ती मिलाउन गरेको खर्च अनुत्पादक देखिइरहेको बेला प्रहरीले यस्तो नीति तय गरेको हो ।

पारिवारीक सल्लाह बेगर नै राजीनामा दिएपछि अधिकांश प्रहरी कर्मचारीहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । सुरक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा उनीहरुले सेक्युरिटी गार्डमा राम्रो तलब सहित काम गर्ने गरेका छन् ।

आर्थिक बर्ष २०७४/७५ मा २ हजार ५ सय ६४ र आर्थिक बर्ष २०७५/७६ मा ३ हजार ७३ जना प्रहरी कर्मचारीहरुले राजीनामा दिएका छन् । यो आर्थिक बर्ष अर्थात साउनयता पनि १ हजार ५ सय ९२ प्रहरीहरुले राजीनामा बुझाइ सकेका छन् ।

x