
काठमाडौं फागुन ५ । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई फिर्ता बोलाईएको छ ।
मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारहरु श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको हो ।
उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि फिर्ता बोलाइएको प्रहरी स्रोतले जानकारी दिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
धनुषाले उनीहरूसँग भएका पेस्तोललगायतका हतियार पनि फिर्ता लिएको छ । तत्कालीन आईजीपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा काज दरबन्दी कायम गरेर उनीहरूलाई प्रदेश २ अन्तर्गतका आठवटा जिल्लामा खटाएका थिए। उनीहरूबाटै गत असार ५ मा चन्द समूहका सर्लाही इन्चार्ज पौडेल सर्लाहीमै मारिएका थिए ।

