
काठमाडौं माघ २४ । आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विशेष बुलेटिन जारी गर्दै शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सँगै बद्ली भई वर्षा हुने जनाएको हो ।
शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा समान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भेगका धोरै स्थानमा र मध्य तथा पूर्वीपहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातको समयमा देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा समान्यतया सफा रहनेछ भने पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिन मार्फत जनाएको छ ।
महाशाखाका अनुसार शनिबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

