
आयुष साम्रि घले
धादिङ माघ १६ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ५ घले गाउँमा रहेको घले धारा एक ऐतिहासिक धाराको रुपमा लिईन्छ ।
यस ठाउँमा घले गाउँको बसोबास सुरुवात बिक्रम सम्वत १८०६ साल भाद्र महिनामा लमजुङको दोर्दी डाँडा गाउँबाट बसाई सरेर आई धनवीर घले र गौमती घलेको दम्पती जीवनले पहिलो बसोबास गरेको किंवदन्ती रहेको छ ।
त्यतिबेलाको समयमा ढालफाड खोरिया खनेर आफू बस्ने बासस्थान बनाई बसेको भनाइ रहेको छ । बस्ने क्रममा जीवनयापन गर्नको लागी पिउने पानीको आवश्यकता पर्दा पानीको मुहान खोज्दै जाँदा काउली बास भन्ने ठाउँमा कावाली लेऊ पन्छाउँदै जाँदा पानीको मुहान भेटियो त्यसपछि त्यहाँको पानीलाई मोइवाको लोतको अस्थायी धारा बनाई प्रयोगमा ल्याईएको पाईन्छ ।
काउली बासको पानी खाने दम्पती पनि धरबिर घलेको दम्पती रहेका थिए । त्यस पछि केही वर्ष पछाडि नेवारहरू आई घलेहरुको जग्गा किनी पुनर्बास भयो ।
यो सँगै दिन प्रतिदिन जनसख्या बढ्दै गयो पानी भर्ने पालो कुर्नु पर्ने अवस्था भयो त्यसको विकल्प सोच्न पर्ने भयो उनै दाम्पत्य जीवनका सन्तानहरू जस्बिर घले, जस्मन घले, भगल घले, धनराज घले, बहादुर सिंह घलेहरु भेला भई सर सल्लाह गरी सम्वत १८७३ सालमा पारी पट्टी भन्ने बाघजाल खोल्सामा फोहोर ढुङ्गा माटो हटाई पानीको धारा बनाई खान सुरु गरेका थिए ।
सोही पारीपट्टी धारा भन्ने नामले चिनिने धाराको पानी खाँदै आएको घले गाउँले त्यस पश्चात अलि अलि यो धारा सुधार हुँदै आउँदा सम्वत २०१५ सालमा राजा महेन्द्र वीर बिक्रम शाह यसै घले गाउँको धारा माथिको पाटामा एक रात राज हुने भन्ने सूचना चर्चामा आए पश्चात यो घले गाउँको घलेहरु भेला भई सरसल्लाह गरी आफ्नो गाउँ ठाउँको मर्यादा देखाउनु पर्छ भनी जंगलमा गई नर बहादुर घले, भद्र बहादुर घले, बम्ब बहादुर घलेले सालको टीम्मा काटी आआफ्नो घरमा लेराई छाट्छुट गरी धाराको डोड खोपी सो उल्लेखित पधेरो सुधार गरेको पाईन्छ ।
त्यहि समयमा उक्त धारा सँगै चौतारा बनाएर बिसना राखी चौतारा माथि तीन वटा काठे धारा राखेर बराबरी पानी चलाई राजा महेन्द्रलाई देखाउन घलेहरु सफल रहेका थिए ।
त्यसै धाराको पानी जेनेरेटरले तानेर फिल्टर गरी राजा महेन्द्रले खाए पछि यो धारा कसले बनाएको भनी सोध्दा घलेहरुले बनाएको भन्ने उत्तर सवार मल्ल जनरलबाट पाएपछि यो धाराको नाम घले धारा भन्नु भन्नि हुकुम भएपछी सम्वत २०१५ साल माघ महिनाबाट घले धारा र घले पधेरो नामले चिनिन थालेको हो ।

