बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने

Avatar photo
Dhadingpost
अशोज ५, २०७६

काठमाडौं असोज ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने बताएका छन् ।

उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका हुन् ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा कास्की प्रतिनिधि सभा २ बाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका थिए ।

उनी गत निर्वाचनमा बर्दिया १ मा काँग्रेस उम्मेद्वार सञ्जय गौतमसँग पराजित भएका थिए । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी हुँदा पनि आफू पराजित भएको भन्दै उनले भने,‘ त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु फेरि पराजित हुनु हो ।’ साथै उनले कास्कीमा स्थानीय नेताहरुलाई उठाउँदा सहज जित हुने विश्वास व्यक्त गरे ।

गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा हुँदै काठमाडौँ फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भई संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुने भएको छ ।

x