धादिङबेसीमा विश्व पोलियो दिवस मनाईयो

Avatar photo
Dhadingpost
कार्तिक ७, २०७५

अमृत तामाङ
धादिङ कार्तिक ७ ।
रोटरी क्लब अफ धादिङको आयोजनामा अन्तराष्ट्रिय पोलियो दिवस धादिङबेसीमा मनाईएको छ ।

पोलियो उन्मुलन गरौँ भन्ने नारा लेखिएका टिसर्ट टोपी तथा प्ले कार्ड सहित धादिङबेसीमा र्याली निकाली दिवस मनाईएको हो ।
र्याली समापन कार्यक्रममा विश्वका केहि मुलुकमा अझै पोलियो उल्मुलन हुन बाँकी रहेकोले अक्टोवर २४ देखि सप्ताह व्यापी पोलियो उन्मुलन दिवसले निरन्तरता पाएको रोटरी क्लव अफ धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले बताएका थिए ।

विश्वका केहि देशहरुमा अझै उल्मुलन हुन नसकेको पोलियो रोग सन् २०१४ देखि नेपालमा नभेटिएको चिकित्सकहरु बताउँछन् ।

जिल्ला समन्वय समिति, जिल्ला अस्पताल धादिङ, पत्रकार महासंघ धादिङ, एड्भान्स एकेडेमी, सहयात्री समाज नेपाल धादिङ, जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कुल, नेपाल रेड्क्रस सोसाइटी, उद्योग वाणिज्य संघ, सुगम टोल सुधार समिति, प्रशंसा टोल सुधार समिति, गणेश टोल सुधार, समिति, शान्ति टोल सुधार समिति, टोल सुधार महासंघ, नेपाल प्रहरी लगायतले प्रभातफेरी कार्यक्रममा सहभागिता जनाएका थिए ।

के हो पोलियो रोग ?
पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मूत्यु समेत हुनसक्छ ।

पोलियोको लक्षण
ज्वरो आउने, रुघा–खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता हुने र हात–खुट्टा दुख्ने जस्ता लक्षण तथा चिन्हहरु देखा पर्दछ । केही बालबालिकामा यसले अतिशीघ्र लुलो पक्षघात गराई अपाङ्ग पनि गराउँछ भने बालबालिकाको मूत्यु समेत हुनसक्छ ।

पोलियो रोगको भाइरस निकै संक्रामक हुन्छ । रोगीको घाँटी तथा आन्द्रामा यो भाइरस रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दुषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्छ ।

यस रोगको जोखिम
जन्मेदेखि एक पटक पनि पोलियो खोप नलिएका वा पोलियो खोप पुरामात्रा नलिएका बालबालिका यस रोगका उच्च जोखिममा हुन्छन् ।

समुदायमा एकजना बच्चालाई पनि पोलियो रोग भएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ । खोप कार्यक्रम संचालन भएतापनि खोेप सेवा राम्ररी उपभोग नभएका ठाँउका बालबालिका पनि यस रोगका जोखिममा पर्न सक्छन् ।

उपचार
पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको खोप तालिका अनुसार पोलियो रोग बिरुद्ध खोप दिनु नै पर्ने हो ।