राजनैतिक दलका खिचतानीले संकटमा लोकतन्त्र

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ११, २०७२

– उत्तम वि.क.
Uttam Bkनेपालमा भएका राजनैतिक परिवर्तनहरु मध्य लोकतन्त्रको प्राप्ति पनि एक हो । दश बर्षे महान् जनयुद्धको जगमा टेकेर भएको १९ दिने जनआन्दोलनको आडमा भएको परिवर्तनले नै लोकतान्त्रिक व्यवस्थाको स्थापना गरेको हो । २००७ सालमा तत्कालिन राजा त्रिभुवनको नेतृत्वमा १०४ बर्ष सम्म चलेको जहाँनिया राणा शासनको अन्त्य गर्दै देशमा प्रजातन्त्रको घोषणा भएको थियो । प्रजातान्त्रिक व्यवस्थाको शुरुवातसँगसँगै आम नेपाली जनताले परिवर्तनका बाटाहरु खुलेको महसुस गरेका थिए ।

जब देशमा प्रजातन्त्र स्थापना भयो त्यसपछि मात्र जनताले आफ्ना हक अधिकारहरुका लागि सँघर्ष गर्नुपर्छ भन्ने चेतनाको विकास भयो । यसरी नेपाली जनताहरुले समयको परिवर्तित गतिसंगै राजनैतिक परिवर्तनका लागी संघर्ष शुरु गरे । वि.सं. २०१७ सालदेखि सुरु भएको निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध २०३६ सालदेखि सुरुभएको आन्दोलनले २०४६ सालमा मात्र विकराल रुप लिदै अन्ततः बहुदलिय ब्यबस्थाको स्थापना गर्न सफल भयो । जसलाई नेपालका सवै राजनैतिक दलहरुले सर्वाधिक ठुलो परिवर्तन भनेर व्याख्या गरेका थिए । तर केही समय पनि नहुदै नेपालका राजनैतिक दलहरुले नेपाली जनताको महान् त्याग, तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीहरुलाई रद्धीको टोकरीमा थन्काएर सत्ता लुछाचुडीको खेलमा प्रतिस्पर्धा गर्न थालेपछि जनताका आशाहरु निराशामा परिणत हुन थाले । २०४६ सालको आन्दोलन मार्फत भनेको र विश्वकै नमुना एवम् सर्वोत्कृष्ट भनिएको संविधान पनि ठुलाले सानाका लागि दबाउने, शोषण गर्ने र निमुखाहरुलाई तर्साउने हतियारको रुपमा मात्र रहयो । समाज र देशमा वेथिती तथा विसंगतिहरु झन् बढेर गए । नेपाली जनताले आफु यही देशको नागरिक हौ भनेर गर्व गर्न सक्ने वातावरण नै नबनेपछि अन्ततः तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनयुद्धको सुरुवात गरेको तथ्य जगजाहेर नै छ ।

एकातिर काँग्रेस, एमाले लगायतका संसदीय राजनैतिक दलहरुले सत्तामा हालिमुहाली र अर्कातिर जनयुद्धरत नेकपा (माओवादी) ले देशको समुल परिवर्तन र राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापनाका खातिर पुरानो राज्यसत्ता विरुद्ध सुरु गरेको युद्धका वीच नेपाली जनताले परिवर्तनको अपरिहार्यता गहिरो गरि महसुस गरे । संसदीय राजनैतिक दलहरुले युद्धरत नेकपा (माओवादी) का विरुद्ध राज्यका सम्पुर्ण शक्तिहरुको दुरुपयोग गरेर पनि दबाउन नसक्ने स्थिती आएपछि देशको राजनैतिक सन्तुलन नयाँ ढंगले विकसित भएको कुरामा कुनै दुइमत छैन ।
वि.सं. २०५८ साल जेठ १९ गते अकल्पनीय रुपमा राजदरबार हत्याकाण्ड भएर तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि संसदीय राजनैतिक दलहरु र त्यसपछि राजा बनेका ज्ञानेन्द्रका वीचमा कित्ताकाट रुप भयो फलस्वरुप माघ १८ को कदम मार्फत ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर राजनैतिक दलहरुलाई जेलको चिसो हावा खुवाउने काम गरे ।

माओवादी विरुद्ध विष बमन गरिरहेका संसदीय राजनैतिक दलहरुले ज्ञानेन्द्रको लखेटाई पछि रुझेको बिरालो जस्तो भएर माओवादीसँगै गठजोड गर्न आएपछि बल्ल नयाँ राजनैतिक अध्यायको सुरुवात हुन पुग्यो जसको प्रतिफल सात राजनैतिक दल र नेकपा (माओवादी) वीच १२ बुँदे समझदारी भयो । त्यही १२ बँुदे समझदारीको जगमा टेकेर १९ दिनसम्म चलेको २०६२/६३ को जनआन्दोलनले अन्ततः वैशाख ११ गते ज्ञानेन्द्रको हातमा रहेको शासन सत्तालाई राजनैतिक दलहरु समक्ष फिर्ता गर्ने काम गर्यो । जसले संविधानसभाको घोषणा गर्दै नेपालमा गणतन्त्र स्थापनाको लागि बाटो खोल्यो । जसलाई नेपालका राजनैतिक दलहरुले लोकतन्त्रको रुपमा व्याख्या गर्ने गरेका छन् ।

यसरी सम्पुर्ण राजनैतिक दलहरुको संयुक्त प्रयास एवं महान् शहिदहरुको त्याग तथा बलिदानीबाट प्राप्त लोकतन्त्रलाई सस्थागत गर्दै अगाडी बढनुको सट्टा तत्कालिन अवस्थामा एक ढिक्का भएका राजनैतिक दलहरु अहिले आएर हजारतिर फर्किएका छन् । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउदै संविधान निर्माणको कार्यभार पुरा गर्नु पर्ने बेलामा एकले अर्कोलाई माइनस गर्ने खेलले देशलाई झन् भन्दा झन् अव्यवस्थातिर धकेलिरहेको छ । समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै खतरको घण्टी बजिरहेको स्थिती छ । हिजो ज्ञानेन्द्रले कुर्सीबाट झिकेर सडकमा मिल्काइदिदा माओबादीसंग गरेको समझदारीहरुलाई लत्याउदै कांग्रेस, एमाले लगायतका राजनैतिकदलहरुले जनतालाई संविधान नदिने, माओबादीलाई पाखा लगाएर एकलौटी हैकम जमाउने, राष्ट्रको ढुकुटीलाई रित्तो बनाउदै मोजमस्ती र ऐश आरामको जीवनशैलीको अनुशरण गर्ने, बिदेश भ्रमणको नाममा राष्ट्रको खरबौ उडाउने, अपराधिक गतिविधीमा संलग्नलाई आश्रय दिने जस्ता गलत कामको कारण लोकतन्त्र प्राप्त भएको दश बर्षको अबधिमा नै नेपाली जनताको लोकतन्त्रप्रति मोहभंग हुन पुगेको छ । जुन समग्र देशको लागि विडम्बना हो ।

तसर्थ जसरीे नेपाली जनता र सम्पुर्ण राजनैतिक दलहरुको संयुक्त प्रयासबाट लोकतन्त्रको स्थापना गरियो त्यसरी नै सबै राजनैतिक दल, बुद्धिजिबी, नेपाल सरकार लगायत सम्बन्धित निकायले नेपाली जनताको भावनाको कदर गर्दै जनयुद्ध, जनआन्दोलन लगायत आमुल परिवर्तनका खातिर भएका आन्दोलनमा आफ्नो ज्यानको बलिदानी दिने महान शहिदहरुको सपनालाई साकार पार्नका लागि आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि उठदै लोकतन्त्रको संस्थागत गर्नु नै आजको अपरिहार्य आवश्यकता हो । राजनैतिक दलहरुको शक्ति होडबाजीबाट दिक्दार र निराश नेपाली जनताहरुमा आशाको नयाँ किरण जगाउन सकेमात्र लोकतन्त्र दिवसको वास्तविक अर्थ रहन्छ । अन्यथा लोकतन्त्र दिवस आम नेपाली जनताको लागि “कागलाई बेल पाक्यो हर्ष न विस्मात” बाहेक केही हुदैन ।