– विष्णुप्रसाद सेढाई ‘निश्चर्मल’ ज्यामरुङ–५, धादिङ
यसपालीको एसएलसी परीक्षा २०७१ साल चैत्र ५ गतेबाट सुरु भएको छ । यस वर्ष नेपाल भर ५ लाख ७४ हजार ६ सय ८४ जनाले परीक्षा दिइरहेका छन् । एसएलसी परीक्षाको नतिजा व्यक्तिको व्यक्तित्व प्रस्फुटन गर्ने सम्भावनाहरुको संघार हो । एसएलसीबाट प्राप्त उपलब्धिकै आधारमा विद्यार्थीहरु आफ्नो भविष्यको सपना बुन्ने र सुखमय जीवनका रहरलाग्दा आशा तुन्ने गर्दछन् । त्यसै आशालाई नियमित रुपमा अघि बढाई नेपालमा विक्रम संवत १९९० सालदेखि कैयौँ विद्यार्थीले आफूलाई विश्वको मानचित्रमा विशिष्ठ स्थान हासिल गर्न लागिपरेका छन् ।
कैयौं पाइलट, शिक्षक, पत्रकार, कलाकार, सुरक्षाकर्मी, संगितकर्मी तथा नाट्यकर्मी भई यावत क्षेत्रमा सम्वद्ध छन् तर एसएलसी परीक्षा र यसको उपलब्धि ‘बच्चाको खेलाई’ अर्थात क्षणिक सोख पुरा गर्ने माध्यम बनेको छ । यसमा न, सरकार नीति उद्देश्यपूर्ण, प्रभावकारी ढंगले पूरा हुन, विद्यार्थीको आवश्यकता समयसापेक्ष बन्न सकेको छ, न त विद्यार्थी परीक्षादेखि ढुक्क तथा सन्तुष्ट बन्न नै सकेका छन् । यो त एउटा औपचारिकता पूरा गर्ने र सरकारी ढुकुटी रित्याउने काम मात्र बनेको छ ।
नेपालमा एसएलसी परीक्षा दिने चलन सुरु भएयता विक्रम संवत १९९८ सालमा एसएलसी परीक्षाको अहिलेसम्मकै इतिहास तोडेर सबैभन्दा बढी ७७.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए तर हिँड्दैछ, पाईला मेट्दैछ भनेझैं झन् विक्रम संवत २००७ मा प्रजातन्त्र आयो, विक्रम संवत २०२८ सालमा राष्ट्रिय शिक्षा पद्दतिको योजना गठन भयो, विक्रम संवत २०४७ साल साथै विक्रम संवत २०६२÷०६३ सालमा ऐतिहासिक आन्दोलनको उपलब्धिले देशमा शैक्षिक आमूल परिवर्तन देखा प¥यो भनिएता पनि एसएलसी उत्तीर्ण दरमा खासै उपलब्धि देखिएको छैन किनकी २०३८ सालमा १६.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसरी हेर्दा औषत रुपमा हेर्ने हो भने, एसएलसी उपलब्धि हुरी आउँदा बलेको मैन जस्तो पिलपिले स्थितिमा छ ।
आजको २१ औं शताब्दीमा शिक्षाको महत्व बढ्दै गएको छ । धुलौटो कोरेर लेख्न थालिएको नेपालमा आइटी प्रविधि समेत विकसित भैसकेको छ । कालोपाटीको साटो ओभरहेड प्रोजेक्टरको प्रयोग भइसकेको छ । व्यवहारिक हिसाबमा हेर्दा धरान २३ पानबारीकी ७४ वार्षिया तिर्थकुमारी खड्का जस्ता बृद्ध, दोलखाका ३३ इन्चका कृष्ण वली, एसिड आक्रमणमा परेका दुई किशोरीहरु संगिता मगर र सीमा बस्नेत जस्ता अस्पतालको शैयामा छट्पटाएकाहरुले समेत ज्यानको प्रवाह नगरी परीक्षा दिईरहेका छन् । उता सरकारले भने, एसएलसी फेल नगराउने र विद्यार्थीलाई ‘ए’, ‘वी’, ‘सी’, ‘डि’, ‘ई’ ग्रेडमा छुट्याई भिन्दा भिन्दै सर्टिफिकेटको व्यवस्था गर्ने साथै न्यूनतम २५ प्रतिशत प्राप्त गर्नेलाई पनि पास गर्ने निर्णय गरेको छ । पूर्वाधारविना गरिएको असावधानीपूर्ण निर्णयले एक त विद्यार्थीलाई एसएलसी परीक्षामा नपढे पनि पास गर्न सकिन्छ भन्ने मानसिकताको विकास गराएको छ भने अर्कोतिर तिव्र प्रतिस्पर्धामा उत्तीर्ण भएका हामी क्षमतावान् छौं भन्ने, स्वाभिमानी प्रतिष्ठित विद्यार्थीहरुलाई खिल्ली उडाएको छ । जे होस् सबै पास हुने भए, राम्रो भयो तर, परीक्षा केन्द्रमा अत्यन्त कडा गर्ने यसपालीको हैकमवादी निर्णयले बच्चा खेलाई भएको छ । विद्यार्थीलाई ब्यभिचारी, मानिसलाई नख्खु जेलमा राखेझैँ आफ्नो चिनजानको एकै जनालाई पनि देख्न नसक्ने गरी परीक्षा दिन लार्इंदा उपलब्धि के होला ? उनीहरुको मनोवल कसरी बढ्ला ? एकातिर सरकार अष्टे«लिया, अमेरिका, कोरिया, जापान आदिको शैक्षिक नीतिको अनुसरण गर्दै किण्डरगार्टन विधि अनुसार बालमैत्री वातावरणमा सिकाइ गरे सिकारुको सिकाइ उद्देश्यपूर्ण बन्छ, भन्छ, अर्कोतिर विद्यार्थीलाई एक्ल्यााएर मानसिक तनाव दिन्छ । यो कस्तो विडम्बना ? ! यति सम्म कि कारागारको कैदीलाई पनि पटक पटक भेट्न र वार्तालाप गर्न पाइन्छ तर, आफैंले पढाएका विद्यार्थीलाई एउटा शिक्षकले देख्न पनि नपाउनु भनेको एसएलसी परीक्षा जेल भन्दा पनि कडा हुनु हो । हामी शिक्षकले वर्षभरि पढाएका कुरा विद्यार्थीले तीन घण्टाभित्र कापीमा पोख्नुपर्छ । त्यसका लागि आत्मविश्वासी बनेर लेख्नुपर्छ । एउटा विषय शिक्षक गेटभित्र छिर्न त कुरै छाडौं, गेटमा बस्न पनि नपाउने भनेको सरकारको नीति र परीक्षाको परिस्थितिबीच बच्चाको खेलाई भएन र ? हामी सानोमा चिलाउनेको पातलाई पैसा मानेर बेच्न राखेको पानी अमला खान्थ्यौं, दुःख गरी खोजेर ल्याएको पानी अमला महत्वहीन, रुखका पात देखाएर खाइन्थ्यो । अहिलेको एसएलसी परीक्षा र यसको उपलब्धि पनि यस्तै बनेको छ । आफ्ना एसएलसी दिएका विद्यार्थीलाई भेट्न जान जिल्ला शिक्षा अधिकारीको सिफारिस चाहिने भन्दा त झन् छाँगाबाट खसेझैँ लाग्छ । ‘आफ्नै बच्चालाई भेट्न छिमेकीको सिफारिस’ भएन र यो ? हामीले वर्षभरि रातदिन नभनी विद्यार्थीलाई पढाएका छौं तर, वर्षभरि पढाएको कुरा व्यवहारमा कति उतारे भनी हेर्न नपाउने तर, वर्षभरिमा एक पटक पनि नाकमुख देख्न नपाउने जिल्ला शिक्षा अधिकारीको सिफारिसमा शिक्षक आफुले भेट्नुपर्ने, यो के को नाटक हो ? ! यसपाली शिक्षकहरु अचम्ममा परेका छन् । हामीले विद्यालयको परिचयपत्र देखाउँछौं भनेका छौं यो हामी शिक्षकहरुका लागि नागरिकता बराबरको परिचयपत्र हो, तर हामी गेटमा पनि बस्न नपाउने यो नेपालको कस्तो विधान हो ? जिल्ला शिक्षा अधिकारी अनुसार नियम बनाउने कि, नियम अनुसार जिल्ला शिक्षा अधिकारी हिँड्ने ? हलोले गोरु जोताउने कि गोरुले हलो जोताउने ?
यद्दपि, हाल नेपालको एसएलसी परीक्षा मात्र नभएर समग्र शैक्षिक प्रक्रिया र संस्था राजनीतिको थलो बनेको छ । कानूनीराजलाई ख्याल गर्ने पदीयजिम्मेवारी लिएकाहरु पनि स्वेच्छाचारी बनी कानूनलाई आफ्नो अनुकुलतामा ढालिरहेका छन् । कानूनले प्रशासन चलाउनुपर्छ, तर, प्रशासनले कानून चलाउने होइन । यस मामिलामा सबै मुकदर्शक बन्नु बेकुफी र निमकहरामीको पराकाष्ठा हो । यसप्रति सबको ध्यान जानु आवश्यक छ ।