गोपाल फयुबा तामाङ
दार्खा–३ धादिङ
तामाङ जातिमा मौलिक संस्कार संस्कृति प्रचलनमा छन् ।ति पद्धतिहरु मथ्ये एक छोइबार्ने चलन पनि हो । ल्हाप्साङकार्पो क्षेत्रमा तामाङहरुमा अझै पनि सासु दिदी (स्यूमे), ज्वाइ (म्हा) र अच्यो (जेठाजु), बुहारी (चङ) बार्ने प्रचलन छ । अझ मित मितिनी समेत बार्ने गरिन्छ । यसपटकको लेखमा छोइ बार्ने प्रचलन र यसको सामाजिक र नैतिक प्रभावबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
उठान,
नेपालका धेरै जातजातिका छोइ बार्ने चलन छ । तामाङ जातिमा पनि यस्तो प्रचलन रहेको छ । तामाङ जातिमा म्हा स्युमे र चङ अच्यो बार्ने चलन छ । मितमितिनी पनि बार्ने चलन छ । कुनै नारी वा पुरुष मगनी वा भागेर विवाह बन्धनमा बाधिए पछि बलेस्योन गरिन्छ । त्यही नै कस कसलाई बार्नुपर्छ भन्ने जानकारी दिइन्छ । औपचारिक रुपमा त्यस दिन केटी पक्षका अननेन्च्योन र केटा पट्टिका अच्योनहरु पनि बोलाइन्छ । र त्यहाँ छोइ बार्नु पर्नेहरुको परिचय दिइन्छ । दिदीहरु, आमा बुबाका मितमितीनी पट्टिका दिदीहरुलाई बार्ने चलन छ । त्यस्तै महिलाले पनि सहोदर दाज्यूहरु एकै कुलका दाइहरु, आमा पट्टिका दाइहरु, आमाबुबाका मितमितिनी पट्टिका दाइहरु समेतलाई छोइबार्नु पर्दछ । मित वा मितिनी लगाएमा सो अनुसार पनि बार्नु पर्दछ । मितले मितिनी र मितिनीले मित बार्ने गरिन्छ ।
कसलाई बारिन्छ त छोइ
विवाह गरेको पुरुषले श्रीमतीका सहोदर दिदीहरु, एकैकुल भित्रका दिदीहरु, आमा पट्टिका दिदीहरु, आमाबुबाका मितमितिनी पट्टिकाीरुलाई बार्ने चलन छ । त्यस्तै महिलाले पनि सहोदर दाज्युहरु, एकैकुलका दाइहरु, आमा पट्टिका दाइहरु, आमाबुबाको मितमितिनी पट्टिका दाइहरु समेतलाई छोइबार्नु पर्दछ । मितले मितिनी र मितिनीले मित बार्ने गरिन्छ ।
अपवाद
दाइ वा दिदी भएता पनि अगाडी नै भेना पर्ने भएमा वा भाउज्यु पर्ने भएमा छोइ बार्नु नपर्ने हुन्छ । लामा, बोम्पो भएमा बार्नु नपर्ने चलन छ ।
सामाजिक प्रभाव
छोइबार्ने प्रचलनसँग आमा पट्टि र बुबा पट्टिको शाखा चिन्ने गर्दछ । दाइ तथा दिदी हुनुको अभिभावकत्व महसुस गराँउदछ । जसले गर्दा सामाजिक संस्कार, संस्कृति र प्रचलनमा खुलेर सहयोग गर्न सकिन्छ । साथै दुःखमा समवेदना प्रकट गर्ने बाटो पनि मिल्दछ । अभिभावक हुनुको गर्व र साना भाइबहिनी हुनुको अपनत्वले गर्दा सामाजिक सद्भाव बढाउन सघाउ पुर्याइ रहेको हुन्छ ।
नैतिक प्रभाव
मानव समाज नैतिकतामा आधारित हुन्छ । तामाङ समाज खुल्ला समाज भएता पनि भाइ बुहारी वा वाहिनी ज्वाइलाई छुने नहुने प्रचलनले गर्दा यसमा संयमता उत्पन्न भएको छ । सबै रमाएर नाचिने म्हाने दोरा नाच्न समेत विचार गरेर नाच्नु पर्दछ । वाहिनी ज्वाइलाई सासु दिदीहरुले र भाइ बुहारीलाई दाईहरुले विचार पुर्यायनु पर्दछ । यसले गर्दा अनैतिक कृयाकलाप नगरी समाजमा नैतिक अमनचयन उत्पन्न हुन जान्छ ।
अन्त्यमा
तामाङ समाजमा छोइ बार्ने प्रचलन विकृतिको रुपमा नभई सामाजिक र नैतिक महत्वका साथ अगाडि बढिरहेको पाइन्छ । अहिले शिक्षा, चेतना र विकासको नाममा यसको विरोध तथा छोइ नबार्ने गरिएको देखिन्छ तर यो सरासर गलत कार्य हो । अधकल्चो मष्तिस्कको उपज हो, आफ्नो संस्कार, संस्कृति र प्रचलन भुल्ने बहाना हो । मान्छेले मान्छेलाई छुन नहुने भन्ने सन्दर्भ मात्र नभएर नैतिकतामा बाधिन पुर्खाले यो नियमको प्रतिपादन गरिएका हुन् भन्ने प्रष्ट हुनु जरुरी छ ।