एसएलसीमा परीक्षाफल ः लेटर ग्रेडमा

Avatar photo
Dhadingpost
बिहिबार, पुस १७, २०७१

keshari prasad panta 22222222222222
– केशरीप्रसाद पन्त

नेपाली शैक्षिक इतिहासमा धेरै उतारचढाव आए तर, उल्लेखनीय प्रगति हुन सकेन केवल भए विदेशी शक्तिराष्ट्रहरुको प्रयोगशाला । नेपालको भू बनोट स्रोतसाधन प्रयोग हुन सक्ने खालको व्यवहारीक जीवनोपयोगी, सीपमुलक प्राविधिक शिक्षाको आवश्यकता छ । हुने खाने र हुँदाखानेहरुको छोराछोरीहरुको विचमा भएको शैक्षिक प्रतिस्पर्धाले वेरोजगार निम्त्याएको छ । यसलाई निराकरण गर्न शिक्षामा आमुल परिवर्तन हुनु जरुरी छ । वेला बखतमाभएको शैक्षिक परिवर्तनले केही असर पारेन । किनभने पढ्न चाहने गरीव किसानका छोराछोरीहरुले आशा गरेजति पढ्नसक्ने वातावरण तयार भएन ।

भर्खरै मात्र एसएलसी परीक्षा प्रणालीमा केही परिवर्तन भएको छ । समग्रमा यसले शैक्षिक प्रतिशत बढाउन र वैदेशिक तुलनामा शैक्षिक वृद्धिदर बढेको देखाउन मात्र मद्दत पुग्नेछ । तैपनि यसले विद्यार्थीहरुमा देखिएका विभिन्न खाले मानसिक एवम् भौतिक तनावलाई कम गराउन मात्र राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याँकन परिषदले गरेको विगत ८१ वर्षदेखी लागु हुँदै आएको एसएलसी परीक्षाको अन्त्यले कति फाईदा र कति बेफाईदा ? त्यो त आफ्नै ठाउँमा छ तैपनि यसले विद्यालयविचको अस्वस्थ प्रतिस्पर्धालाई उन्मुलन गरी विद्यार्थीहरुको मानसिक तनावलाई मुक्त पार्न एसएलसी परीक्षा अनुत्तिर्ण हुने व्यवस्थाको अन्त्य गरेको छ । अबदेखी विद्यार्थीको हातमा अनुत्तिर्ण भएको मार्कसिट थमाइने छैन । यस वर्ष (२०७१) प्राविधिक तर्फको एसएलसी परीक्षामा परिक्षणका रुपमा लागु हुनेछ र आगामी ०७२ सालको परीक्षादेखी साधारणतर्फ लागु गरिनेछ । प्रतिशतको आधारमा गरिँदै आएको मुल्याँकन पद्धतिलाई विस्थापित गरी लेटर ग्रेडका आधारमा मूल्याँकन गर्ने पद्धतिलाई पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्ले स्वीकृत गरी यसरी लागु गरिने निर्णय गरेको छ ।

९० देखी १०० प्रतिशतसम्म ‘ए’ प्लस “विशिष्ट”, ८० देखी ८९ प्रतिशतलाई ‘ए’ “उत्कृष्ठ”, ६०देखी ७९ प्रतिशतलाई ‘वी’ “धेरै राम्रो”, ४०देखी ५९ सम्मलाई ‘सी’ “राम्रो”, २५ देखी ३९ सम्मलाई ‘डि’ “कमजोर” र २५ प्रतिशत भन्दा तललाई ‘ई’ “धेरै कमजोर” भनेर वर्गिकरण गरेको छ । यसमा डि र ई श्रेणी प्राप्त गर्नेहरु अनुत्तिर्ण हुने छैनन् र त्यस्ता विद्यार्थीहरुले चाहेमा परीक्षाफल प्रकाशित भएको १ वर्षभित्र मुल वा पूरक परीक्षामा पनि सम्मिलित हुन सक्नेछन् । पूनः परीक्षामा सम्मिलत भई माथिल्लो ग्रेड प्राप्त भएमा सोही व्यहोरा खोली थप प्रमाणपत्र उपलव्ध गराईनेछ । तर त्यस्ता विद्यार्थीहरुलाई कलेजले भर्ना नलिन पनि सक्नेछन् । यदि भर्ना हुने अवसर प्राप्त भएमा आफ्नो भविष्यको ख्याल गरी सुधारात्मक तरिकाबाट अध्ययन गरेमा सफल हुन सक्ने आशा गरिन्छ । दक्षिण एशियाली मुलुकहरु मध्ये नेपाल लेटर ग्रेड प्रणाली अपनाउने पछिल्लो मुलुक हो । भारत र भुटानले सबैभन्दा कमजोरलाई प्रमाणपत्रमा सन्तोषजनक नभएको भनी लेख्ने गरेको छ । २१ देखी ३२ सम्म अङ्क ल्याउनेलाई उत्तिर्ण गर्ने तर, प्रमाणपत्रमा सुधार आवश्यक भनी उल्लेख गर्ने गरेको छ ।

अबदेखी नेपालमा उत्तर पुस्तिका परीक्षण अङ्कमा हुने र त्यसलाई परीक्षा नियन्त्रण कार्यालयले अक्षर “ग्रेड”मा रुपान्तरण गर्नेछ । शैद्धान्तिक र प्रयोगात्मक विषयमा अलग–अलग उपलब्धि स्तर खुल्नेगरी ग्रेडको आधारमा मूल्याँकन गर्नेछ । यस किसिमको शैक्षिक निर्णयले कतिसम्म सकारात्मक र नकारात्मक प्रतिफल निस्कने हो त्यो भविष्यले बताउनेछ । तर समिक्षात्मक रुपले विश्लेषण गर्दा अभिभावकहरुको १० वर्षको लगानीमा सन्तुष्टि आफ्ना छोराछोरीहरु सफल भए भन्नु र विद्यार्थीहरु सफलताको खुसियालीमा रमाउनु नै महत्वपूर्ण मानिन्छ । किनभने विगतका वर्षहरुमा असफल भएर घटेका पिडादायीक दर्दनात्मक घटनाहरुबाट उन्मुक्ति पाउनु सुखद् कुरा हो । परीक्षाफल प्राप्त पश्चात हातमा सफलताको पमाणपत्र पाउनु, उच्च शिक्षा पढ्न पाउने अवसरबाट बञ्चित हुन नपर्ने सकारात्मक पक्ष हो भने, कमजोरका लागि त फलामको चिउरा चपाए सरह नहोला भन्न सकिन्न । तर, रोजार्यको विषय लिएर कडा परिश्रम गरेको खण्डमा सफलताको चुचुरो चुम्न असम्भव पनि छैन । समग्रमा सरकारले अव बन्ने संविधानमा शिक्षा, स्वास्थ्य र रोजगार जस्ता विषयलाई पूर्ण सरकारको जिम्मा भएको खण्डमा र आफ्नो क्षमता अनुसार सीपमुलक, व्यवहारिक प्राविधिक शिक्षा पढ्न पाउने अवसर प्राप्त भएमा आत्मनिर्भर भई जीवन यापन गर्न सक्ने नागरिक तयार हुन सक्छन भन्ने कुरा सोच्नु सान्दर्भिक हुनेछ ।
मिति २०७१ पौष १७