कार्ल मार्क्स र एंगेल्सले सन् १८४८ मा अन्तर्राष्ट्रिय ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशन गर्दा सुरुमै यो वाक्य उल्लेख गरेका छन्, ‘आज युरोपमा एउटा भूतले तर्साइरहेको छ, त्यो हो-साम्यवादको भूत ।’ तर, आज नेपालमा भने एउटा अर्को भूतले तर्साइरहेको छ, त्यो हो-माओवादी नेता कमरेड विप्लवद्वारा प्रक्षेपण गरिएको ‘एकीकृत क्रान्ति’को भूत ।
यो भूतले माओवादी आन्दोलनभित्रका अवसरवादी र बाहिरका यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई एकैचोटी तर्साइरहेको छ । अर्को कुरा माओवादी आन्दोलनभित्र र बाहिरका केही मान्छेहरु ‘हात्ती र अन्धा’को कथामा झै एकीकृत क्रान्तिको वास्तविकतालाई नबुझेर हैरान भएका छन् । जुन स्वाभाविक छ ।
सुदर्शन मंगोल
यी पंक्तिहरु लेखिरहँदा पाठकहरुलाई के सुसूचित गरौं भने यो एकीकृत क्रान्तिको कार्यक्रम न सार्वभौम सिद्धान्त हो, न त सार्वभौम विचारको रुपमा विकसित हुँदै गरेेको सिद्धान्त नै । यो नेपाली कम्युनिस्ट आन्दोलनमा मुख्यतः पछिल्लो माओवादी आन्दोलनमा देखा परेको गंभीर विचलनपछिको दक्षिणपन्थी नवसंशोधनवाद, छद्म संशोधनवादका विरुद्धको लामो वैचारिक संघर्षले पैदा गरेको वर्गसंघर्षको नयाँ मोडल र कार्यक्रम हो । शान्ति प्रक्रियापछिको माओवादी आन्दोलनमा देखा परेको अकल्पनीय विचलन, नसोचिएको सम्झौता, दक्षिणपन्थी आत्मसमर्पणवाद र अवसरवादका विरुद्धको क्रमभंग हो ।
यो एकीकृत क्रान्तिले प्रतिक्रियावाद र माओवादी आन्दोलनमा देखा परेको अवसरवाद दुवैका विरुद्ध एकैचोटी जेहाद छेडेको छ । यो क्रान्ति नेपाली वर्गसंघर्षको नितान्त नौलो मोडल हो । यसले प्रयोगको माग गरेको छ । प्रयोग गर्ने क्रममा यसभित्रका कयौं कुराहरुलाई मुर्त र विकसित गर्ने कुरा छदैछ । फेरि संसारमा पूर्ण र अकाट्य भन्ने चिज केही पनि छैन । मार्क्सवाद समेत पूर्ण छैन भनेर लेनिनदेखि माओसम्मका नेताहरुले भनेको कुरा हो । यो एकीकृत क्रान्तिको मोडल त झन् पछिल्लो नेपालको सन्दर्भमा प्रादुर्भाव भएको नितान्त नयाँ विचार हो । प्रयोग गर्ने क्रममा यसलाई विकसित गर्न सकिनेछ र विकसित हुँदै गर्दा यसले सार्वभौम सिद्धान्तको रुपमा पनि विकास गर्न सकिने कुरालाई नर्कान सकिदैन । किनभने विज्ञानको सधै विकास भइरहन्छ ।
विज्ञानको नयाँ आविष्कार हुँदा संसारमा धेरै मान्छेले सुरुमा विश्वास गर्न सक्दैनन् । तर सत्य र विज्ञानको जित भएरै छाडेको छ । त्यो सामाजिक विज्ञानमा होस् या भौतिक विज्ञानमा । पृथ्वी गोलो छ भनेर भौतिक विज्ञानमा नयाँ कुरा ल्याउदा वैज्ञानिक ग्यालिलियोलाई फाँसीमा झुण्डाइएको थियो । तर उनको आविष्कार पुष्टि भएरै छाड्यो ।
त्यसैगरी सामाजिक विज्ञानमा मार्क्स र एंगेल्सले कम्युनिज्मको सिद्धान्त ल्याउदा धेरै मान्छेहरुले हाँसो-मजाकका रुपमा उडाएका थिए । आखिर त्यो सिद्धान्त सिंगो विश्व मानवजातिका लागि सार्वभौम सिद्धान्त बन्यो । अहिले नेपालमा एकीकृत क्रान्तिको कुरा आउँदा धेरै मान्छेलाई ठट्टा र मजाक लाग्ने गरेको छ । तर यसबाट कुनै पनि क्रान्तिकारीहरु आत्तिन जरुरी छैन । बरु यसबारे केही भ्रमहरु सिर्जना गरिएका छन् । ती हुन्, ‘एकीकृत क्रान्ति’ नयाँ जनवादी क्रान्तिभन्दा अलग छ । यसले माओको नयाँ जनवादी सिद्धान्तलाई प्रतिस्थापन गर्ने प्रयत्न गरेको छ । यो मुलतः सारसंग्रहवादी, फोकोवादी, विप्लववादी र सशस्त्र संशोधनवादी चिन्तनबाट आएको छ भन्ने भ्रम छर्ने कोशिस भइरहेको छ ।
अन्य भ्रमहरुमा नियमित सेना, आधारइलाका, दीर्घकालीन जनयुद्ध, छापामार युद्धबिनाको सशस्त्र संघर्षको कुरा गरिएको छ । यो निराधार र तथ्यहीन आरोप मुलतः माओवादी क्रान्तिबाट थाकेका, गलेका, कायर र भगौडाहरुले लगाउने गरिरहेका छन् ।
सूचना र यातायातले गाउँमा ल्याएको परिवर्तन, पछिल्लो समयमा दलाल पुँजीवादले ल्याएको विकृतिका कारण करिब १ करोड युवाहरुको विदेश पलायन, गाउँमा युवाहरुको शून्य उपस्थितिलगायतका जमिनी यथार्थताले पनि अहिले हामीले दीर्घकालीन जनयुद्ध भनेर मात्र पुग्नेवाला छैन ।
पहिलो कुरा के स्पष्ट पारौं भने कमरेड विप्लवद्वारा प्रक्षेपण गरिएको ‘एकीकृत क्रान्ति’ नयाँ जनवादी क्रान्तिको विकल्पमा आएको कार्यक्रम नै होइन । न त यसले सिद्धान्तको रुपमा नै आकार ग्रहण गरेको छ । नयाँ जनवादी क्रान्तिलाई पूरा गर्न अगाडि सारिएको नयाँ कार्यक्रम मात्र हो । हाम्रो राजनीतिक कार्यक्रम नयाँ जनवाद हो भने त्यसका लागि फौजी संघर्ष मुलतः जनयुद्ध नै हो । तर हाम्रो पार्टीले जनयुद्ध नभएर एकीकृत क्रान्ति भनेर नयाँ पदावली प्रयोग गरेको छ । यसको ठूलो अर्थ छ । जनयुद्ध मुलतः दीर्घकालीन जनयुद्ध भनेर माओको समयपछि संसारभरि धेरै चर्चा गरिएको छ । तर स्मरणरहोस् माओका धेरैजसो ‘भोल्युम’हरुमा जनयुद्धबारे त्यति धेरै उल्लेख गरिएको छैन । बरु माओले क्रान्तिकारी युद्ध या जनताको युद्ध भनेर परिभाषित गर्नु भएको छ ।
माओका सैन्य रचना होस् या चुनिएका रचना वा संकलित रचना कुनैपनि ‘भोल्युम’मा जनयुद्ध वा दीर्घकालीन जनयुद्ध भनेर त्यति धेरै चर्चा गरेको पाइँदैन । यसबारे आजका माओवादीहरुले नयाँ शिराबाट अध्ययन-छलफल गर्न जरुरी छ ।
यो कुरा सत्य होकि लेनिन र माओको निधनपछिका कम्युनिस्टहरुले लेनिनको नेतृत्वमा सम्पन्न भएको अक्टोबर क्रान्ति (सन् १९१७) लाई रुसी क्रान्तिको मोडल र माओको नेतृत्वमा सफल पारिएको नयाँ क्रान्ति (सन् १९४९) लाई चिनियाँ मोडल भनेर परिभाषित गरे । रुसी क्रान्तिलाई समाजवादी क्रान्ति भनियो भने चिनियाँ क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भनियो । तर माओकालीन समयमै कोरियाली क्रान्ति (सन् १९४८), क्युबाली क्रान्ति (सन् १९५१) र भियतनामी क्रान्ति (सन् १९४५) लगायत अन्य केही मुलुकहरुमा सर्वहारा क्रान्ति भएका छन् । ती क्रान्तिलाई कसरी परिभाषित गर्ने ? यसबारे नयाँ बहस आवश्यक छ । तर पुँजीवादका विरुद्ध भएका यी क्रान्तिहरु पनि हाम्रा लागि मोडल नभएपनि रेफरेन्स (सबक) हुन सक्छन् ।
सर्वहारा क्रान्ति गर्ने विशाल दृष्टिकोण भएका हामी कम्युनिस्टहरुले आजको विश्वमा रुसी र चिनियाँ मोडल बाहेक अरु कुनै मोडल हुन सक्दैन भन्ने रुढीगत मान्यतालाई भत्काउनै पर्छ ।
कमरेड विप्लवद्वारा अघि सारिएको एकीकृत क्रान्तिले यी दुई मोडललाई एक अर्कामा संयोजन गरेर आजको नेपाली मौलिकतामा नयाँ मोडल विकास गर्ने हिम्मत गरेको छ । पक्कै पनि १ सय वर्षअघिको रुस र ६४ वर्षअघिको चिनियाँ मोडल आजको नेपालमा हुबहु नक्कल हुन सक्दैन । आजको भुमण्डलीकृत विश्व, विज्ञान-प्रविधि, सूचना, यातायातलगायत अन्य कयौं क्षेत्रमा आएको परिवर्तन अनि दश वर्षे जनयुद्धले नेपाली समाजमा ल्याएको परिवर्तन, त्यसपछिको पछिल्लो समयमा आएको कयौं परिवर्तनलाई हामीले पकड्नै पर्छ ।
यी सबै घटना र परिघटनाबाट आजको विश्वमा दुई मोडल बाहेक नयाँ, मौलिक र तेस्रो मोडलको विकासबारे हामी क्रान्तिकारी माओवादीहरुले नयाँ ढंगबाट सोच्नै पर्ने भएको छ
आज गाउँ र शहरकाबीचको अन्तरसम्वन्ध, मुख्यतः सूचना र यातायातले गाउँमा ल्याएको परिवर्तन, पछिल्लो समयमा दलाल पुँजीवादले ल्याएको विकृतिका कारण करिब १ करोड युवाहरुको विदेश पलायन, गाउँमा युवाहरुको शून्य उपस्थितिलगायतका जमिनी यथार्थताले पनि अहिले हामीले दीर्घकालीन जनयुद्ध भनेर मात्र पुग्नेवाला छैन । नेपाली समाजमा आएको यति ठूलो परिवर्तनलाई हामी आँखा चिम्लेर अस्वीकार गर्न सक्दैनौ ।
आज नेपाली समाजका अन्तरविरोधहरुमा आएको कयौं परिवर्तनलाई पकडेर त्यही अनुरुपको संघर्षको मोडल विकास गर्न सकेनौं भने हामीले विजय हासिल गर्न सक्दैनौं ।
यो विचारणीय पक्ष छ कि चिनियाँ जनवादी क्रान्ति र माओको निधनपछिको विश्वमा सर्वहारा क्रान्ति सफल हुन सकिरहेका छैनन् । किन ? यो प्रश्न जबर्जस्त बनेर उभिएको छ । खासगरी ५०, ६० र ७० को दशकमा बर्मा (सन् १९४८-१९५०), मलाया (सन् १९६०-१९६८), फिलिपिन्स (सन् १९७०) लगायतका मुलुकमा भएका जनयुद्धहरुले ७० को दशकको अन्तमा धक्का खान पुग्यो । त्यसमा मुलतः दीर्घकालीन जनयुद्धको हुबहु नक्कल गर्न खोज्नुले धक्का खानु परेको अवस्था देखिन्छ ।
बर्मामा त्यहाँका माओवादीहरुले ५० को दशकको पूवार्द्धमा जनयुद्धको थालनी गरे तर त्यसको उत्तरार्द्धमा आएर धक्का खाए । मलायामा साठीको पूवार्द्धमा जनयुद्ध सुरु गरियो तर साठीको दशकको अन्तमा पुगेर हार व्यहोर्नु पर्यो । फिलिपिन्समा ७० को दशकमा जनयुद्ध सुरु भयो तर ८० को दशकमा सेटब्याक खानु पर्यो । त्यसैगरी धेरैले आशा र भरोसा गरेको पेरुको जनयुद्ध जहाँ सन् १९८० मा सुरु भयो तर सन् १९९२ मा गोञ्जालोको गिरफतारीपछि ठूलो धक्का खान पुग्यो । यता नेपालमा ०५२ बाट सुरु गरेको जनयुद्ध ०६२ मा आउँदा नेतृत्वको गद्दारीले गर्दा ठूलो धक्का व्यहोर्नु पर्यो ।
यी सबै घटना र परिघटनाबाट आजको विश्वमा दुई मोडल बाहेक नयाँ, मौलिक र तेस्रो मोडलको विकासबारे हामी क्रान्तिकारी माओवादीहरुले नयाँ ढंगबाट सोच्नै पर्ने भएको छ । त्यही भएर विप्लवले ‘एकीकृत क्रान्ति’को मोडलको प्रस्ताव अघि सार्नु भएको छ । यहाँ भ्रम के नरहोस् भने हामीले यी दुई मोडल बाहेकको कुरा गरिरहँदा संशोधनवादीहरुले जस्तो सशस्त्र संघर्षको बाटो नै परित्याग गर्न खोजेको त होइन भन्ने आशंका उत्पन्न हुन सक्छ । बिल्कुल त्यसो होइन र हुन पनि सक्दैन ।
सर्वहारावर्गको सत्ता प्राप्त गर्न बलप्रयोग र सशस्त्र संघर्षको बाटो पकड्नै पर्ने हुन्छ । तर सशस्त्र संघर्षको मोडलहरुबारे विकास गर्नेतिर जानुपर्छ भनिएको मात्र हो ।
आफ्नो युगमा १९ औं र २० औं शताव्दीमा सर्वहारा वर्गले आफ्नै मौलिकतामा सर्वहारा क्रान्ति गरेका छन् । १९ औं शताव्दीको उत्तरार्द्धतिर फ्रान्सको पेरिसमा पहिलोपटक सर्वहारावर्गले राज्यसत्ता कब्जा गर्यो । जसलाई पेरिस कम्युन (सन् १८७१) को नामले चिन्ने गरिन्छ ।
इतिहासमा पहिलो अनुभव र आफ्ना केही सीमा र कमजोरीका बाबजुद ७२ दिन मात्र भए पनि पेरिसका मजदुरहरुले सर्वहारा वर्गको सत्ता संचालन गरे । अनि २० औं शताव्दीको पुवार्द्धमा रुसमा कम्युनिस्टहरुले आफनै मौलिकता र विशेषतामा अक्टोबर समाजवादी क्रान्ति (१९१७) गरे । लेनिनले मजदुरहरुलाई आधार मानेर सशस्त्र विद्रोहमार्फत क्रान्ति सम्पन्न गर्नु भयो ।
यता चीनमा माओले अविकसित अर्धसामन्ती र अर्धऔपनिवेशिक समाज रहेको मुलुकमा नयाँ जनवादी क्रान्ति (१९४९) गर्नु भयो । यहाँ सशस्त्र संघर्षको बाटो लामो प्रकृतिको युद्ध भयो, जसलाई दीर्घकालीन जनयुद्ध भनियो । २० औं शताव्दीको मध्यतिर गरिएको यो क्रान्तिमा जापानी साम्राज्यवादलगायत आधा दर्जन बढी साम्राज्यवादीहरुको हस्तक्षेप र उपनिवेश अनि घरेलु च्याङ काइसेकको प्रतिक्रियावादका विरुद्ध लामो प्रकृतिको युद्ध लड्नु परेको थियो ।
माओले यसलाई लामो प्रकृतिको युद्ध, राष्ट्रिय मुक्तियुद्ध र पछि गृहयुद्धको संज्ञा दिनु भयो । विशेष हेक्का राख्नै पर्ने कुरा के छ भने रुस र चीनमा लेनिन र माओले आफ्नै मौलिकतामा क्रान्तिको कुरा गर्दा रुसमा प्लेखानोभ, मेन्सेविक मार्काका अवसरवादीहरुले लेनिनलाई ‘उग्र’, ‘केटौलेपन’, ‘अपरिपक्व क्रान्ति’जस्ता नानाथरी आरोपहरु लगाएका थिए । त्यो भन्दा ठूलो आरोप र कार्वाहीसमेत माओले चीनमा भोग्नु पर्यो ।
आफ्नै मौलिकता र विशेषतामा माओले क्रान्ति गर्नुपर्छ भन्दा छन् तु स्यु, छुुछु पाई, लिलिशान र वाङमिङहरुले कहिल्यै त्यसो गर्न दिएनन् । छुछु पाई, लिलिशान र वाङमिङहरुले त चीनमा रुसी मोडलको सशस्त्र विद्रोहको अन्धनक्कल गर्दा असफल भए । किनभने रुसी समाजको चरित्र चीनको समाजसँग मेल खादैनथ्यो । तर माओले चिनियाँ समाजलाई राम्ररी अध्ययन गर्नु भएको थियो । त्यही भएर माओ सफल हुन भयो ।
माओलाई आफ्नो मौलिक र सही कार्यदिशा लागु गर्न सन् १९३५ पछिमात्र संभव भयो । दीर्घकालनी जनयुद्ध नाम दिएर माओले सन् १९३८ मा यो मोडल प्रतिपादन गर्नु भयो । त्यसपछि सन् १९४० मा पुगेर माओले नौलो जनवाद भन्ने कार्यक्रम प्रतिपादन गर्नु भयो । अनि सन् १९४९ मा पुगेर चीनमा जनवादी क्रान्ति सम्पन्न भयो ।
आज हामी २१ औं शताव्दीको पुवार्द्धमा छौं । २० औ शताव्दीमा भएका सर्वहारा क्रान्तिका स्वरुप र मोडल आजको २१ औं शताव्दीमा हुबहु लागू हुन सक्दैन । सय वर्ष अघिको रुस र ६४ वर्षअघि चीनमा अपनाइएका क्रान्तिका मोडल आजको हाम्रो नेपालमा हुबहु नक्कल हुँदैन ।
आजको विश्व र नेपाली रंगमंचमा आएका कयौं परिवर्तनका लहरहरुलाई आजका क्रान्तिकारीहरुले विशेष आत्मसात गर्नैपर्छ । विश्व र नेपाली समाजमा आएको बदलाभाव खासगरी दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) र भियतनाम युद्ध (सन् १९५९-१९७५) पछिको स्थितिमा आएको परिवर्तनले माओले गरेको तेस्रो मुलुकबारे गरिएको विश्लेषणमा ठूलो मात्रामा परिवर्तन आएको छ । नेपाली समाजलाई हामी पहिले अर्धसामन्ती र अर्धपौपनिवेशक भन्दथ्यौं तर अहिले हामी नवऔपनिवेशिक भनिरहेका छौं ।
यसअनुरुप पनि हामीले संघर्षको स्वरुपलाई विकास गर्न जरुरी छ । आफ्नो मौलिकता र विशेषतामा क्रान्तिको कुरा गर्दा त्यो न विप्लववाद हुन्छ, न फोकोवाद, न त सशस्त्र संशोधनवाद नै । कमरेड विप्लवद्धारा अघि सारिएको एकीकृत क्रान्तिले नयाँ जनवादी क्रान्तिका निम्ति सशस्त्र संघर्षको अपरिहार्यतालाई जोड दिएको छ । यसले सशस्त्र संघर्षको स्वरुप जनयुद्ध र जनविद्रोहका कयौं सैद्धान्तिक एवं व्यवहारिक मान्यतालाई पकडेर नयाँ स्वरुपमा विकास गर्ने कुरा गरिरहेको छ ।
बलियो जनमुक्ति सेना, जनसत्ता, आधारइलाका निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेको छ । जुन माओका धेरै कुराहरु यो एकीकृत क्रान्तिमा समावेश छ । क्रान्तिकारी पार्टी, सेना, मोर्चाको अवधारणालाई नयाँ शिराबाट लागु गर्ने कुरा गरिरहेको छ । यसबारे कोही पनि भ्रममा पर्न जरुरी छैन । माओेले भनेजस्तै, तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौं । एकीकृत क्रान्तिले त्यही लडाइँ लड्न मार्गदर्शन गरेको छ ।
(लेखकः नेकपा माओवादी केन्द्रीय प्रचार-प्रसारमा आवद्ध छन्)